भक्तपुर नपाको एघारौँ नगरसभा सम्पन्न

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ११ फागुन

भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा गत माघ २६ गतेबाट सुरु भएको सभा फागुन १० गते मङ्गलबार सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको एघारौँ नगरसभाको मङ्गलबार बसेको बैठकले भक्तपुर नपाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक, भक्तपुर नपाको केही विनियमलाई संशोधन गर्न बनेको विधेयक २०७८ र भक्तपुर नगरपालिका, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ मा संशोधन गर्न बनेको विधेयकलगायत सर्वसम्मतिले पारित गर्यो ।

सभामा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायतका विविध क्षेत्रमा भएका गतिविधिहरूबारे सर्वसाधारण जनतालाई छिटोछरितो र विश्वसनीयरूपमा सूचना प्रवाह गर्न सञ्चारमाध्यमहरूको प्रभावकारी भूमिका रहने बताए।

भक्तपुर नपाका जनप्रतिनिधिहरूले जनतालाई दिएको वचन पूरा गर्न कार्यकाल सफल भएको बताउँदै उनले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले उत्कृष्टता हासिल गरेको बताए।

वर्तमान राजनीतिक परिस्थितिका कारण देशमा राजनैतिक सङ्कट निम्तिन सक्ने खतरा रहेको औँल्याउँदै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूलाई जस्तोसुकै परिस्थितिमा देश र जनताको सेवामा लाग्न प्रेरित गरे।

सभाको विशेष समयमा सभासद्हरू सिद्धिराम अवाल, बलराम न्हिसुतु, शिव बाला, श्यामसुन्दर मातां, राजेन्द्र माक, सूर्यप्रसाद श्रेष्ठ, जितेन्द्र मुनंकर्मी र गोविन्द दुवालले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्दै भक्तपुरको भगवतीस्थानमा बीमासहितको फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने, टौमढी र दरबार क्षेत्रमा डस्टबिनको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रममा भक्तपुरमा प्रभावकारी भएको हुँदा नगर स्वास्थ्य बीमा सुरु गर्नुपर्ने, ख्वप अस्पतालमा सेवा सुविधाहरू थप्दै लानुपर्ने, ख्वप अस्पतालमा कार्यरत कर्मचारीहरूको व्यवहारमा सुधार गर्नुपर्ने, देको मिवा आवास योजनाको काम छिटो सम्पन्न गर्नुपर्ने, हनुमन्त्ते खोला सफाइ अभियान चालु राख्नुपर्ने आदि धारणा राखेको थियो ।

सभामा देको मिवा इतापाकेबारे उठेको जिज्ञासाबारे वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आवास योजनाको पुर्जा वितरण छिटो गर्ने तयारी भइरहेको, खानेपानी समितिका संयोजक महेन्द्र खायमलीले खानेपानी समस्या समाधानको लागि केयूकेएलसँग निरन्तर समन्वय भइरहेको र शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य रविन्द्र ज्याख्वले शिशुस्याहार केन्द्रको भवन सुधार गर्दै जाने, भगवतीस्थानमा रहेको जनस्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सञ्चालन गर्न पहल गर्ने, ख्वप अस्पतालमा अन्य स्वास्थ्य सेवाहरू क्रमशः थपिँदै लाने धारणाहरू व्यक्त गरे।

नगरसभामा भएका सम्पूर्ण गतिविधिहरूको संक्षिप्त प्रतिवेदन वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सभासमक्ष वाचन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *