तरुल खेतीबाट आम्दानी गर्दै सर्लाहीका किसान

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सर्लाहीः २३ पुस


सर्लाहीमा यसपटक किसानहरुले तरुलको राम्रो मुल्य पाएका छन् । राम्रो मुल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । बिगत बर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यस पटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क बनेका हुन् ।
सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको बताउँछन् । यस पटक माघे संक्रान्ति नजिकिँदै गर्दा सर्लाहीको बागमती नगरपालिका स्थित राजघाट, सोल्टी बरहथवा नगरपालिका स्थित हजरिया लगाएतका किसानहरु तरुल खन्ने काममा ब्यस्त बनेका हुन् ।

यस पटक किसानले तरुलको प्रतिकिलो मूल्य ६० देखि ८० सम्म पाएको अर्का तरुल किसान राजलाल महतोले बताए । ‘पोहोर साल त ३०/३५ रुपैयाँ प्रतिकिलो थियो’ । उनले भने, ‘यस पटक राम्रो भाउ पाएका छौ । रामै्र फाइदा हुन्छ होला ।’ संक्रातिको लागि भन्दै तरुल खरिद गर्न किसानहरु बारी बारीमै पुग्ने गरेका छन् ।

यहाँ उत्पादन भएको तरुल ठेकेदारले किसानसँग खरिद गरेर देशका मुख्य बजार हेटोडा, लहान, काठमाडौं बिराटनगर र धनगडीसम्म पुर्‍याउने गरेका छन् । ठेकेदारहरुले खेतमै खनेर लैजाने गरी ठेक्का बरहथवा नगरपालिका स्थित राजघाटका तरुल किसान बिनोद दाशले बताए । किसान आफैले स्थानीय बजारमा समेत तरुल बिक्रीको लागि लैजाने गरेको उनको भनाइ छ ।

गत बर्ष ३०/४० रुपैयाँ किलोमा बिक्री गरेको तरुल यसबर्ष ६०/८० रुपैयाँसम्ममा बिक्री गर्नपाएको बागमती नगरपालिका–५ का अर्का तरुल किसान शंकर मैनालीले बताए । मैनालीले यस बर्ष एक बिगाह क्षेत्रफलमा तरुल लगाएको बताए । लामो समयदेखि तरुल खेती गर्दै आएका मैनाली यस बर्ष प्रति कठ्ठा १६ देखि १७ हजारसम्म खर्च कटाएर आम्दानी हुने बताउँछन् ।

‘लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकोले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा छ’ । मैनालीले भने, ‘अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसार भित्र लगाउदा पनि हुने’ । एउटै बारिमा दुई थरी खेती गर्न पाहिने भएकोले पनि किसानहरु तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयको भनाइ छ । तरुल बिक्री बितरणमा अहिलेसम्म किसानले दुख पाउनु नपरेकोमा समेत किसानहरु खुशी छन् ।

माघे संक्रातीमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत बिक्री हुने गर्दछ ।

तरुलखेती गर्दा जमीन हेरेर बिउँ, खनाई, जोताई, खाद मल र गोडमेल समेत गरेर ८ देखि १० हजारप्रति कठ्ठा लगानी हुने किसानहरुको भनाइ छ । यसरी उत्पादन गरेको तरुल प्रति कठ्ठा ७ देखि १० क्वीन्टलसम्म उत्पाादन हुने गरेको छ । त्यसबाट किसानले लगानी कटाएर प्रति कठ्ठा १६/१७ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

बिशेष गरी सर्लाहीको बागमती र बरहथवा नगरपालिका अन्तरगतका क्षेत्रमा ब्यावसायिक खेती हुँदै आएको तरुल, यस पटक २ सय ८५ हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको जिल्ला कृषि ज्ञानकेन्द्रका कृषि प्रसार अधिकृत देवानन्द रायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *