बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भक्तपुर भ्रमणमा

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ३ फागनु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गरे । प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरेकाे थियाे।

प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्न, अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि स्वास्थ्य उपकरण तथा सामाग्रीहरु व्यवस्था गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

बागमती प्रदेशले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न सोहीअनुरुपका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयकमा सार्वजनिक, मानित र ट्रष्टअन्तर्गत विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्था रहेको हुँदा स्थानीय तहले त्यसअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गर्न सकिने धारणा व्यक्त गरे।

उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै बागमती प्रदेशले प्रदेश मातहतका अस्पताललाई एक अर्ब बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको स्मरण गरे।

बागमती प्रदेशअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति दिने योजना अगाडि ल्याएको बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सम्पदा संरक्षणको क्षेत्रमा गरिरहेको गतिविधि प्रशंसनीय रहेको बताए।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक सहर भक्तपुरको संक्षिप्त परिचय तथा विशेषताबारे अवगत गराउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज र अस्पतालबाट प्रवाहित सेवा सुविधाबारे अवगत गराए।

उनले ख्वप अस्पताल १०० शैय्याको स्वीकृतिको लागि आवश्यक सहयोगको लागि मुख्यमन्त्री पाण्डेलाई आग्रह गरे।

आकारले सानो भक्तपुर नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’ र पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानलाई सार्थकता दिन भक्तपुर नपाले जोड दिँदै आइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका क्रममा रहेको बताए।

उनले ख्वप विश्वविद्यालयको सम्बन्धन पाएमा सस्तोमा गुणस्तरीय चिकित्सकहरु उत्पादन गरेर देशलाई आवश्यक जनशक्ति उपलब्ध गराउने बताए।

सोही क्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले मुख्यमन्त्री पाण्डेको भ्रमण उपलब्धीमूलक हुने आशा व्यक्त गर्दै प्रदेश सरकारमार्फत सबल स्थानीय तहलाई विकास निर्माणमा आवश्यक सहयोग हुनेमा आशावादी रहेको बताए।

कार्यक्रमपश्चात मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप अस्पताल, श्वासप्रश्वास पुनःस्थापना केन्द्र, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको अभिरुचिपूर्वक स्थलगत अवलोकन भ्रमण गरे।

अवलोकनका क्रममा मुख्यमन्त्री पाण्डेले नपाबाट सञ्चालित कलेज तथा अस्पतालको विषयमा विभिन्न जिज्ञासा राख्दै अस्पताल तथा कलेजहरुबाट प्रवाहित सेवा तथा सुविधाहरुबारे जानकारी लिए।

उनले देशको आवश्यकताअनुसारका इन्जिनियर उत्पादन गर्न कलेजहरुले जोड दिनुपर्ने बताउँदै भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजको प्रगति उल्लेखनीय रहेको बताए।

सो अवसरमा नेमकिपा बागमती प्रदेशका सभासद्द्वय सुरेन्द्रराज गोसाईं र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नगरपालिकाका वडाध्यक्ष रविन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *