नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १९ मंसिर

नेपाली युवाहरुलाई अवैध रुपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  उमहाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, पक्राउ परेकाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरुसँग रकम असूली गरेर उनीहरुले भारतको नयाँ दिल्ली हुँदै रुससम्म लैजाने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार, नेपाली युवालाई भिजिट भिसामा त्यहाँ लगिएको पाइएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) ले पनि यो मामलामा ‘जानकारीमा राखेको’ बताएको छ ।

ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले भने, ‘पहिले विमानस्थलमा हाम्रो टोली हुँदा भिजिट भिसामा रुस जानेलाई फर्काएका थियौं ।’ उनका अनुसार, रुसबाट फर्किएका मध्ये कोही पनि ब्यूरोको सम्पर्कमा छैनन् ।

रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन कूटनीतिक नोट पठाएको छ ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवाहरुलाई पनि लगेको आशंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *