वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी शुरु

विशेष समाचार शिक्षा समाचार

चीनमा पनि प्रेस स्वतन्त्रता भएको टिप्पणी

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ कात्तिक


वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी शुरु भएको छ ।

आइतवारदेखि शुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।


गोष्ठीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तथा चीन अध्येता राजेन्द्र चवालले चीनका विषयमा पश्चिमा चश्माबाट हेर्न नहुने र वास्तविकता अर्कै भएको बताए ।
चीनमा पनि प्रेस स्वतन्त्रता रहेको र चिनियाँ भाषा पढ्न र बुझ्न कठिन भएकाले अंग्रेजीमा लेखिएका रिपोर्टहरु पढ्दा गलत भाष्य स्थापित भएको उनले स्पष्ट पारे ।

चीनको मिडियाको बारेमा अहिले बुझ्न सहज हुँदै गएको र चीनले अंग्रेजी भाषामा र विभिन्न अन्य भाषामा पनि मिडिया चलाउन थालिएकाले कुनै पनि विषयमा चीनको आधिकारिकता थाहा पाउन पश्चिमा मिडिया नभइकन चिनियाँ मिडिया हेर्नु पर्ने भनाइ उनको रहेको छ ।

देशको शान्ति सुरक्षा र भौगोलिक अखण्डता पत्रकार आचारसंहिताको महत्वपूर्ण विषय भएकाले कुनै पनि राष्ट्रले यसलाई अंगिकार गर्ने गरेको र चीनले पनि सोही सिद्धान्त अंगिकार गरेको उनको भनाइ रहेको छ ।

उनले भने, “विश्वमा चीन एउटै मात्र देश भएको तर पश्चिमाहरुले २–३ वटा चीनको रुपमा हेर्ने भएकाले उनीहरुले चीनमा प्रेस स्वतन्त्रता छैन भन्ने गरेको छ ।” चीनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी मोनालिसा शिल्पकारले चीनबाटै कागज र प्रेसको आविष्कार भएको कुरा पत्रकारिताको इतिहासमा उजागर नभएको जानकारी दिइन् ।

देशको सार्वभौमिकता, राष्ट्रियता र जनताको पक्षमा चीनको मिडिया भएको बताउँदै चिनिया जनताको लागि सरकारले आफ्नै किसिमको सामाजिक सञ्जाल विकास गरेको उनले जानकारी दिइन् ।
चीनको इतिहास जति पुरानो छ, त्यति नै मिडियाको इतिहास पुरानो रहेको बताउँदै चीनमा मिडियाको नियमन चिनियाँ कानुन र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नै भएको आफूले पाएको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा पत्रकारिता शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुमा अध्ययन अनुसन्धान गर्ने बानीको विकास गराउन र पत्रकारिताको बारेमा विश्वको परिस्थितिबारे जानकार बनाउन गोष्ठीको आयोजना गरेको जानकारी दिएको थियो । वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले चिनियाँ भूराजनीतिबारे प्रशिक्षणात्मक मन्तव्य दिएको थियो ।

वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुको सभापतित्वमा भएको कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरु मालती पराजुली, सोनिया देसेमरु, सरिना बाडे, सुमन मचामसीलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *