छायादेवी कम्प्लेक्सविरुद्धको प्रदर्शनमा पाटन र काठमाडौँका प्रदर्शनकारीहरू पक्राउ

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १४ असाेज

छायादेवी कम्प्लेक्सविरुद्धको प्रदर्शनमा पाटन र काठमाडौँका प्रदर्शनकारीहरू पक्राउ

काठमाडौँ महानगर वडा नं. २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरी पुरेर बनाएको छायादेवी कम्प्लेक्स हटाउनुपर्ने र ऐतिहासिक कमलपोखरी कायम गर्नुपर्ने माग राखी शनिबार धर्ना दिएका प्रदर्शनकारीहरूमध्ये २५ जनालाई संविधानविपरीत नेपाल प्रहरीले पक्राउ गरेको छ ।

सम्पदाप्रेमी समाज नेपाल र टुगेडर वी क्यानको आयोजनामा शनिबार ऐतिहासिक सम्पदा जोगाउनुपर्ने भनी शान्तिपूर्ण तवरले धर्ना बसेका आन्दोलनहरूलाई विभिन्न देशका राजदूत एवं कूटनीतिक व्यक्तित्व आउने बेला निषेधित क्षेत्र भन्दै गिरफ्तार गरिएको थियो ।

नेपालको संविधान २०७२ ले शान्तिपूर्ण तवरले भेला हुने, जुलुस प्रदर्शन गर्ने र धर्ना दिन पाउने अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । संविधानको भाग ३ को धारा १७ मा स्वतन्त्रताको हकअन्तर्गत उपधारा (२) मा प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ भनिएको छ । (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता, (घ) सङ्घ र संस्था खोल्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता ।

मौलिक अधिकारलाई हनन गर्दै शान्तिपूर्ण जुलुस र धर्ना प्रदर्शन गरेका सम्पदाप्रेमीहरूलाई पक्राउ गर्नु पुष्पकमल दाहाल नेतृत्वको सरकारको संविधानविरोधी र प्रजातन्त्रविरोधी कदम भएको विज्ञहरूले औँल्याएका छन् ।

कानुन अध्ययन समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले कुनै निषेधित क्षेत्र नतोकेको स्थानमा शान्तिपूर्णरूपमा धर्ना प्रदर्शन गरिरहेका आन्दोलनकारीहरूलाई पक्राउ गर्नु संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकको हनन र प्रजातन्त्रको मूल्य मान्यताविपरीत भएको बताए।

देशमा जघन्य अपराध गर्ने र अदालतबाट दोषी ठहर गरी जेल सजाय भोगिरहेकालाई प्रचण्ड सरकारको निर्णयमा राष्ट्रपतिमार्फत सजाय माफी दिन मिल्ने तर देशकै सम्पदा मिची ऐतिहासिक बही कमलपोखरीमा बनाएको भवन भत्काउनुपर्ने, सांस्कृतिक धरोहर म्हासेको विरोध गर्नेलाई पक्राउ गर्नुले सरकार कसद्वारा सञ्चालित र परिचालित छ भनी सचेत जनसमुदायले प्रश्न उठाइरहेका छन् ।
लिच्छविकालीन ऐतिहासिक थँ बहीभित्र रहेको कमलपोखरीलाई राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केशर शमशेरले जबरजस्ती कब्जा गरेका थिए भने केशर शमशेरका छोरा केयुर शमशेरले पोखरी पुरेर किर्ते तथा दुषित लिखतका आधारमा आफन्तबिच बेचबिखन गरेका थिए । पोखरी पुरेकै स्थानमा छायादेवी कम्पलेक्स नामको व्यापारिक भवन खडा गरिएको छ ।

ऐतिहासिक सम्पदा म्हास्ने उक्त कदमको विरुद्ध सम्पदाप्रेमी स्थानीय बासिन्दाहरू, प्रधान गुठीका गुठीयारहरूलगायत देशभरकै सम्पदाप्रेमीहरूले आन्दोलन गरिरहेका छन् । देशको सम्पदा संरक्षण र संवद्र्धन गर्न शान्तिपूर्ण विरोध कार्यक्रममाथि प्रहरी हस्तक्षेपले कतै गृहमन्त्री नारायणकाजी श्रेष्ठ सम्पदा म्हासेका भू–माफियाहरूसित त मिलेका होइनन् ? भनी जनताले प्रश्न उठाएका छन् ।
धर्नाको क्रममा प्रहरीले नियन्त्रणमा लिएका प्रदर्शनीकारीहरूमा नारायण महर्जन, विश्वक डंगोल, रमेश डंगोल, उपेन्द्र सुवाल, हरिरत्न गोर्खाली, पुण्यराम गाईजू, मनिष गोरा, कवीन्द्र डंगोल, सरोज लवजू, अशोक बज्राचार्य, पृथिवेन्द्र महर्जन, महेश बज्राचार्य, विवेक रावल, लक्ष्मीप्रसाद रन्जित, राजेश भुइयो, शान्त महर्जन, धर्मसेन महर्जन, मानबहादुर महर्जन, वन्दना महर्जन, सुरेन्द्र, राजु कपाली, महेन्द्र ब्रह्माचार्य, विष्णु खत्री र पूर्ण बुढाथोकी रहेको छ ।

पक्राउ परेका प्रदर्शनकारीहरूलाई महानगरी प्रहरी परिसरको दरबार मार्ग वृत्त र सोह्रखुट्टे वृत्तमा राखिएका छन् । त्यस्तै प्रदर्शनकारीहरू प्रदिपमानसिंह बस्नेत र प्रतीक रोकामाथि साङ्घातिक रूपमा प्रहरीले कुटपिट गरेको र पक्राउ पर्नुभएकाहरूमाथि सोधपुछका नाममा दुव्र्यवहार गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *