अस्पताल अनुगमनमा काठमाडौं महानगरको टोली आएपछि सञ्चालक फरार, कर्मचारी लुके

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २९ जेठ

 

अवैध भेटिएको भन्दै दुई अस्पतालमा महानगरले लगायो ताला

सोमबार काठमाडौं महानगरपालिकाको अनुमगन टोलीले काठमाडौंको दुई वटा अस्पतालमा आकस्मिक अनुगमन गरेको छ। महानगरपालिकाको टोलीले बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र कोटेश्वर जडीबुटीस्थित हाम्रो सहयात्री अस्पताल तथा वर्थिङ सेन्टरमामा अनुमगन गरेको थियो।

अनुगमनका क्रममा दुवै अस्पतालले दर्ता गरेको लगायतका कानुनी कागजपत्र बुझाउन नसकेपछि महानगरले दुवै अस्पतालमा ताला लगाइदिएको छ।

महानगरको टोली सर्वप्रथम बौद्धस्थित चाइनिज पिपुल्स अस्पतालमा पुगेको थियो। महानगरको टोलीसँगै सञ्चारकर्मी पनि पुगेका थिए। अनुमगन टोली आएको चाल पाए लगत्तै अस्पतालका सञ्चालक र पदाधिकारी फरार भएका थिए भने कर्मचारीहरु भने कोठाभित्र लुकेका थिए।

टोलीले उपलब्ध रहेका केहीसँग सोधपुछ र अनुगमनपछि अस्पताल अवैध रुपमा चलेको भन्दै ताला लगाउने निर्णयमा पुगेको थियो। सो क्रममा अस्पतालमा कार्यरत कर्मचारीको खोजी गर्दा केही कर्मचारी कोठाभित्र लुकेर बसेको फेला परेका हुन्। महानगरको टोलीले कर्मचारीलाई आफ्ना कपडा लगायतका सामग्री लिएर बाहिर जान भनेपछि अस्पताल ड्रेसमा रहेका कर्मचारीले आफ्ना सामग्री लिएर बाहिर निस्केका थिए।

महानगरको टोलीले अस्पताल बन्द भएको सूचना दिँदै भर्ना भएका बिरामीलाई अन्यत्र जान र अस्पताल प्रशासनले अन्यत्र सार्नुपर्ने भन्दै निर्देशन दिएको छ। त्यसपछि महानगरले अस्पताल प्रशासन, ल्याब, ओपिडी लगायतका क्षेत्रमा ताला लगाइदिएको छ।

उक्त अस्पतालमा ताला लगाइसकेपछि महानगरको टोली कोटेश्वर जडीबुटीमा रहेको हाम्रो सहयात्री अस्पतालमा पुगेको थियो। उक्त अस्पताल निकै फोहोर र मापदण्ड समेत पूरा नभएको देखिन्थ्यो। महानगरको टोली पुगेपछि अस्पताल सञ्चालक आएका थिए।

टोलीले अस्पतालका आवश्यक सबै कागजपत्र मागेपछि सञ्चालकले सबै छ भनेर जवाफ दिए। तर अनुमगन टोलीले कागजपत्र उपलब्ध गराउन भनेपछि ती सञ्चालकले खोजेजस्तो गरे तर उपलब्ध भने गराउन सकेनन्।

अनुमगन टोलीसँग सञ्चालकले आफूलाई अनुगमनमा आउँदैछौं भनेर पहिले नै जानकारी किन नदिएको भन्दै प्रश्न गरेका थिए। ‘तपाईंहरुले पहिले नै अनुगमनमा आउँदैछौं भनेर किन नभन्नु भएको? जानकारी दिनुभएको भए त म सबै कागजपत्र खोजेर राख्थे,’ ती सञ्चालकले भने।

सञ्चालकका कुरा सुनेपछि अनुगमन टोलीले दर्ता लगायतका कागजपत्र नभएको र कानुनी प्रक्रिया पूरा नभएकाले अस्पताल बन्द गर्छौं भन्दै ताला लगाएका थिए।

टोलीले अस्पताल परिसरमा रहेको औषधि पसलमा पनि सिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *