न्यूज अपडेट संवाददाता
भक्तपुर, २७ जेठ

भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजुको प्रमुख आतिथ्यमा भीम आदर्श आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत कार्यक्रम भएकाे छ ।
कार्यक्रममा अतिथि कोजुले निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताए।
विद्यालयका प्रधानाध्यापक दीपक माकले देश र समाजको लागि उपयोगी विद्यार्थी तयार गर्न विद्यालयका शिक्षकहरू लागिपरेको बताउँदै विद्यार्थीहरूलाई पनि सोहीअनुरूप उज्ज्वल भविष्यको लागि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराइरहेको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागि विद्यालयले उपयुक्त मञ्च तयार गरिरहेको बताए।
विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य र सत्यराम कासिछ्वा तथा कक्षा ६ की विद्यार्थी खुसी तामाङलगायतले बोलेको सो कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।