गर्मीका कारण गोरखा र तनहुँमा विद्यालय बन्द

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

गाेरखा, २७ जेठ

गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ। गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

“गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उनले भने। मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन्। गर्मी बढ्दै गए  थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउँछन्।

“कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उनले भने, “यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ।” पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी  पुगेको छ। पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए।

तनहुँमा पनि विद्यालय बन्द  
गर्मी बढेपछि तनहुँमा पनि विद्यालयको पठनपाठन बन्द गरिएको छ। जिल्लाको  शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्।

विद्यार्थीको स्वास्थ्यमा असर पर्ने अवस्था देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो। आँबुखैरेनीले यही जेठ २८ गतेदेखि असार १ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

यस्तै देवघाट गाउँपालिकाले यसअघि नै विद्यालयको पठनपाठन बन्द गरेको छ। व्यास नगरपालिका भित्रका केही विद्यालयले पठनपाठन बन्द गरेका छन्। व्यास–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीको सत्यवती, निर्मल, जलदेवीलगायत विद्यालयले पठनपाठन बन्द गरेको नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन पराजुलीले जानकारी दिए।

“विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर पठनपाठन बन्द गर्न पाउने सामुदायिक र संस्थागत सबै विद्यालयलाई पत्राचार गरेका छौँ”, उनले भने। तनहुँको ऋषिङ, घिरिङ, भीमाद, भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा भने पठनपाठन जारी छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *