सहकारी संस्थालाई सदस्यहरूको जीवनसँग जोड्नुपर्छ

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २० जेठ

सहकारी संस्थालाई सदस्यहरूको जीवनसँग जोड्नुपर्छ

बाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वाग्मती पहिलो समूहको २८ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएकाे छ।

नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले नेमकिपालाई अरूले पनि राजनीतिक विचार र सिद्धान्तको इमानदारीपूर्वक राजनीति गर्ने पार्टीको रूपमा लिएको चर्चा गरे।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा सहकारीको बारेमा विभिन्न सुझाव पेश गरेको जानकारी दिँदैै उनले शिक्षा, स्वास्थ्य र सहकारीसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेको बताए। “सहकारीमा आएको समस्या बेलैमा समाधान नगरेमा श्रीलङ्काको दुर्गति भोग्न र पाकिस्तानको दुरवस्था भोग्न हामी बाध्य हुन्छौँ,” उनले भने।

सरकारी कलकारखाना बन्द भएकोमा चिन्ता व्यक्त गर्दै उनले छिमेकी देशको सहयोगबाट सञ्चालन भएका विभिन्न कलकारखाना घाटाको निहुँमा बन्द गरेर कौडीको मूल्यमा निजीकरण गरेको बताए। उनले भने, “सहकारी न्यून आयस्तर भएका गरिबको लागि हो । सहकारी ठूलाठालुले सञ्चालन गर्ने होइन । सहकारीलाई जीवनसँग जोडेन भने सहकारी पनि बैङ्कजस्तै हुन्छ । सहकारीलाई समुदायसँग जोड्नुपर्छ । सहकारी शिक्षा, स्वास्थ्य, कृषि, कला, सम्पदा, भाषा, संस्कृतिसँग जोड्नुपर्छ ।

विश्वमा भइरहेको आर्थिक समस्याले चीनलाई नछोएको विचार व्यक्त गर्दै उनले चीन विश्वका चाहिने सम्पूर्ण सामानको आदानप्रदान गर्ने देश बनेको बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले एक आपसमा आफ्ना असल अभ्यास साटासाट गर्नुपर्ने आवश्यकता औँल्याउँदै सिकाइ व्यवस्थापन फलदायी हुने विश्वास व्यक्त गरे ।हाल भइरहेको सहकारी बचाउ अभियानबारे विचार व्यक्त गर्दै उनले सहकारी अभियानका व्यक्तिले कानुन सम्मत भए समर्थन र कानुनविपरीत भए विरोध गर्नुपर्ने बताए। सुशासनमा बसेका सहकारी संस्थाले गलत नीति र कार्यको विरोध नगरे हामी र अन्यमा कुनै फरक नहुने विचार पनि उनले व्यक्त गरे।

सिद्धि गणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखाले वर्तमान समयमा भइरहेको सहकारीको विकृति र विसङ्गतितर्फ सचेत भएर अघि बढ्नुपर्ने स्पष्ट पारे । उक्त कार्यशालामा उपाध्यक्ष कृष्णभक्त बोडे, सचिव राधेश्याम सुवाल अध्यक्ष एवं सभापति विश्वराम त्वायना र पुनेन्द्रप्रसाद कुसीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *