न्यूज अपडेट संवाददाता
भक्तपुर, २१ फागुन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले राष्ट्रपति संस्थालाई भूमिकाविहीन बनाए देश सिक्किमीकरण हुने बताएको छ ।
शनिबार बाल विकास सेकेन्डरी स्कूलको ३५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले राष्ट्रपति विद्यादेवी भण्डारीले देशघाती नागरिकता विधेयक प्रमाणित गरेको भए देश बर्बाद भइसक्ने बताए ।
उनले राष्ट्रपतिको उक्त कदमको विरोध गर्नेहरू विदेशी दलाल र देशघाती तत्व भएको बताए ।
अहिले देशको मुख्यमुख्य पदमा रहेका व्यक्तिहरू खराब हुँदा देशले दुर्गति भोग्नुपरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भोलिको सुन्दर भविष्यको लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई राजनीतिबारे बुझाउन र देशलाई माया गर्न सिकाउनुपर्ने आवश्यकता औँल्याए।
उनले देशको भविष्य नै आजका बालबालिका भएकाले विद्यालयका विद्यार्थीलाई संस्कारयुक्त बनाउनुपर्ने धारणा राखे ।
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगत धेरै वर्षदेखि सरकारले शिक्षा र स्वास्थ्यबाट हात झिकेर शिक्षा–स्वास्थ्य व्यापारिक घराना तथा दलालहरूलाई भक्तपुरले देशैभरका सर्वसाधारण जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।
उनले अध्यक्ष रोहित भारत प्रवासबाट फर्केपछि भक्तपुरमा गुणस्तरीय शैक्षिक अभियान अगाडि बढेको चर्चा गर्दै बाल विकास स्कूल त्यसैको नमुना भएको बताए । उनले शिक्षक, अभिभावकले विद्यार्थीलाई देशभक्तिको भावना सिकाउनुपर्ने धारणा राख्दै यो देशमा केही हुँदैन भनेर विद्यार्थीलाई विदेश पलायन गराउन खोज्नेहरू विदेशीका दलाल भएको बताए ।
नेमकिपाका केन्द्रीय सदस्य सृजना सैँजूले राजनीतिमा नैतिकता हराउँदै गएकोले विद्यार्थीहरूलाई नैतिकता र इमानदारिताको पाठ सिकाउनुपर्ने धारणा राखे। शिक्षक र अभिभावकले बालबालिकालाई इमानदार र नैतिकवान् बनाउनुपर्ने विचार व्यक्त गर्दै उनले देशलाई बर्बाद गर्न खोज्नेहरूले विद्यार्थीलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिरहेको धारणा राखे ।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले नेपालको राजनीतिमा कोही इमानदार र चोखो व्यक्ति छ भने त्यो अध्यक्ष रोहित नै भएको बताउँदै आफू भक्तपुरबाट निकै प्रभावित भएको बताए। उनले सरकारले शिक्षामा नियोजन गरेकोले सरकारी क्याम्पस र विद्यालयमा शिक्षक र डेक्सबेन्च भए पनि विद्यार्थी नभएको बताए।
साहित्यकार नरेन्द्रराज प्रसाईले देशमा नक्कली कम्युनिस्टहरूको बिगबिगी रहेको बेला नेमकिपा मात्रख सच्चा कम्युनिस्ट पार्टी भएको प्रस्ट पारे।
कवयित्री इन्दिरा प्रसाईले देशको नेतृत्वले भक्तपुरबाट सिक्नुपर्ने बताए। चिकित्सा शिक्षा आयोगका निर्देशक तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलिप शर्माले समाज निर्माणको मुख्य आधार नै विद्यार्थी भएकोले विद्यालय र अभिभावकले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए।
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले बालबालिकाको चौतर्फी विकासको लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए। डा. के.बी. कर्माचार्यले बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभिभावक प्रतिनिधि घनश्याम खड्का र शिक्षिक सीतालक्ष्मी प्रजापतिले पनि बोलेको थियो । कार्यक्रममा डा. मिश्रलाई नेमकिपाका अध्यक्ष रोहितले अभिनन्दन गरेको थियो ।
विद्यालयको ३५ औँ वार्षिकोत्सवको अवसरमा भएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालयमा अनवरतरूपमा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।