कीर्ते सर्टिफिकेट बनाएर एमबिबिएस पास, डा साहविरुद्ध ७ वर्षको कैद मागदाबी गर्दै मुद्दा दर्ता

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
 न्यूज अपडेट संवाददाता
काठमाडाैं, ६ फागुनsharethis sharing button

कीर्ते सर्टिफिकेट बनाएर एमबिबिएस अध्ययन गरेर डाक्टर बनेको पाइएको भन्दै एक जना डाक्टरविरुद्ध मुद्दा दर्ता भएको छ।

मुद्दा दर्ता हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका १४ का २७ वर्षीय डाक्टर अजय साह छन्। एमबिबिएस अध्ययन गर्नका लागि चाहिने एसएलसीको लब्धांक नम्बर कीर्ते गरेको पाइएपछि साहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।

नेपाल मेडिकल काउन्सिलका इलिजिविटी कमिटीका अध्यक्ष डा अनिल कुमार झाको पालामा साहले एसएलसीको मार्कसिट कीर्ते गरेर बंगलादेशमा एमबिबिएस अध्ययन गरेको पाइएपछि उनीविरुद्ध मुद्दा चलाइएको हो।

एमबिबिएस अध्ययनका लागि चाहिने न्युनतम योग्यता नपुगेका साहले एसएलसीको नम्बर कीर्ते गरेको पाइएको छ। मार्कसिटको नम्बर कीर्ते गरी नेपाल मेडिकल काउन्सिलबाट समेत स्वीकृत लिएर उनले बंगलादेशमा एमबिबिएस अध्ययन गरेका थिए।

अजय साहले एसएलसीको सर्टिफिकेट कीर्ते गरेको पाइएपछि उक्त सर्टिफिकेट भेरिफाइ गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा भेरिफाइका लागि पठाइएको थियो।

तर साहको सर्टिफिकेट भेरिफाइ हुन सकेको थिएन। उनले २०६७ सालमा एसएलसी पास गरेका थिए। उनको सिम्बोल नम्बर ०२२४६३५ यु हो। तर राष्ट्रिय परीक्षा बोर्डबाट भेरिफाइ हुन सकेन। साहले एमबिबिएस अध्ययन गर्नका लागि पेश गरेको उक्त सिम्बोल नम्बरको सर्टिफिकेट र परीक्षा बोर्डमा रेकर्ड भएको सर्टिफिकेटको नम्बर मेल खाएको थिएन।

साहले २०६७ सालमा जनता माध्यामिक विद्यालय नेत्रगन्ज हाल लालबन्दी ७ बाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए।

तर साहले एमबिबिएस अध्ययनका लागि मार्कसिटको नम्बर अपुग हुने भन्दै ६७ दशमलव ७५ प्रतिशत अर्थात प्रथम श्रेणी बनाएर कीर्ते गरेको खुलेको सिआइबीको अनुसन्धानबाट खुलेको छ।

साहले कीर्ते गरेको अनुसन्धानबाट खुलेपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गतको कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। सार्वजनिक लिखत अन्तर्गतको कसुरमा उनीवरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

साहविरुद्ध सिआइबीले दुई वर्षअघि नै छानबिन गरे पनि पक्राउ भने परेका छैनन्। अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *