भक्तपुरमा प्रारम्भिक पहिचान सम्बन्धी पुनतार्जगी तालिम सुरु

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २० भदाै

सबैको लागि पढाइ कार्यक्रम अन्तर्गत समानताको लागि आवाज भक्तपुरको आयोजनामा २ दिने प्रारम्भिक पहिचान सम्बन्धि पुनतार्जगी तालिम भक्तपुरमा सुरु भएको छ ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र छनाेट भएका १७ वटा आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका प्रअ तथा बाल विकास कक्षा देखि ३ सम्म पढाउने शिक्षकशिक्षिका हरूको सहभागिता रहेको छ । उक्त तालिममा प्रशिक्षक तथा सबैको लागि पढाइ कार्यक्रमका कार्यक्रम संयोजक राजु आचार्यले भक्तपुर नगरपालिकासँगको लामो छलफल पछि बालबालिका र शिक्षासँग सम्बन्धित विशुद्ध शैक्षिक कार्यक्रम गर्न सहयोग गरेको बताउँदै भक्तपुर नगरपालिकामा अध्ययनरत कक्षा ३ सम्मका विद्यार्थीहरूमा देखिएको वा नदेखिएको प्रारम्भिक अपांगता पहिचान गरि निराकरणका लागि आवश्यक सहयोग गर्ने बताए ।

सोही कार्यक्रममा पुनःस्थापना र विकासका लागि साझेदार संस्थाका निर्देशक सूर्यभक्त प्रजापतिले अपांगता पहिचानका प्रक्रियाबारे बताउँदै वासिङ्टन समूहको प्रश्नावलीले गलत सूचनालाई निरुत्साहित गरी सही जानकारी दिन सकिने बताए। उनले बालबालिकाको सिकाईका सहजता ल्याउने शैक्षिक उपलब्धिका तालिम संचालन गर्न नसक्दा आज शैक्षिक उपलब्धिमा प्रश्नहरू तेर्साउने बताउँदै वैयक्तिक शैक्षणिक योजनामा शारीरिक र मानसिक अपांगता भएकालाई सहजीकरण गरेमा राष्ट्रले ठूलै फाइदा लिन सकिने बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शारीरिक अपांगता संघका अध्यक्ष किरण शिल्पकार तथा प्रशिक्षकले अपांगता भएको व्यक्ति भन्नुपर्ने बताउँदै जस्तोसुकै प्रकारको सेवा दिने संस्थाले विश्वमा सर्वव्यापी मान्यताको भाैतिक संरचना बन्नुपर्ने बताए। उनले समय सापेक्ष रूपमा शिक्षकहरू पनि जस्तोसुकै अवस्थाका विद्यार्थीलाई शिक्षण सिकाई गर्न अपडेट भइरहनु पर्ने धारणा राखे। अन्तर्क्रिया, छलफल तथा प्रश्नोत्तर समेत भएको उक्त कार्यक्रम भोलि समापन हुने कार्यक्रम संयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *