भक्तपुर नगरपालिकामा वितरण भयाे मेलम्चीको पानी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ जेठ

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण थालेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको थियो । उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुशी भएको बताए ।
सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्रहिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताए ।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए । पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *