कीर्तिपुर र टोखा नगरपालिकामा उम्मेदवार परिचयात्मक कार्यक्रम

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १७ बैशाख

नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगरपालिका निर्वाचन परिचालन समितिको आयोजनामा बिहीबार उम्मेदवार परिचयात्मक कार्यक्रम भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले निर्वाचन सिद्धान्त, नीति र व्यवहारको लडाइँ भएको विचार राख्नुभयो । उहाँले नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीजस्ता शासक पार्टीहरूले घोषणापत्रलाई देखाउने दाँतको रूपमा प्रयोग गर्दै आएको बताउनुभयो ।

केन्द्रीय सदस्य गोसाईले नेपालको संविधानअनुसार स्थानीय तहलाई २१ वटा काम, कर्तव्य र अधिकार दिएको भन्दै ती काम गर्न योग्य उम्मेदवार छनोट गर्न सबै मतदाता गम्भीर हुनुपर्ने विचार राख्नुभयो । उहाँले नेमकिपाले नेपालको राजनीतिक इतिहासमा इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको भन्दै काठमाडौँ उपत्यकाको भाषा, संस्कृति र ललितकलाको संरक्षणको निम्ति नेमकिपाले महत्वपूर्ण योगदान पुर्याएको विचार राख्नुभयो ।

कीर्तिपुर नपाका लागि नेमकिपाका तर्फबाट मेयर पदका उम्मेदवार श्रीकृष्ण महर्जनले कीर्तिपुरवासीलाई रैति होइन समृद्ध नागरिक बनाउने, भ्रष्टाचारमुक्त नगर बनाउने, फोहरमैलाको समस्या नपा आफैले समाधान गर्ने, पार्टीको घोषणापत्रअनुसार नगरवासीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार सर्जु महर्जन, वडा २ का वडाध्यक्ष बासुमान महर्जन, वडा सदस्य गङ्गामान महर्जन, वडा नं. ५ का वडा अध्यक्ष उम्मेदवार अशोक डंगोल, सदस्यहरू मधुकर श्रेष्ठ, प्रशान्त महर्जन, महिला सदस्य रमा महर्जन र वडा नं. ८ का वडाध्यक्ष उम्मेदवार राजीव महर्जन, सदस्यहरूमा बुद्धिमान महर्जन, बिन्द्रा महर्जन र महिला सदस्यमा मनसादेवी रञ्जितकार र वडा नं. ९ अध्यक्ष पदका अविरमान महर्जनले आफ्नो परिचय दिनुभएको थियो ।

टोखामा पनि कार्यक्रम
नेपाल मजदुर किसान पार्टी, टोखा नगर समितिले बुधबार उम्मेदवार परिचयात्मक कार्यक्रम गर्यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले स्थानीय तहले संविधानका सीमाभित्र रहेर काम गर्ने भएकोले क्रान्तिकारी परिवर्तनका काम गर्न नसक्ने बताउनुभयो ।

उहाँले स्थानीय तहलाई दिइएका केही काम, कर्तव्य र अधिकारको सही उपयोग गर्ने र इमानदारीपूर्वक काम गर्ने उद्देश्य नेमकिपाले लिएको विचार राख्नुभयो ।

केन्द्रीय सदस्य गोसाईले निर्वाचनको माध्यमबाट समाजवाद आउने भन्ने सिद्धान्त नै खोटो भएको भन्दै निर्वाचनलाई जनताको राजनीतिक चेतनास्तर उठाउने अभियानको रूपमा लिनुपर्ने भनाइ राख्नुभयो ।

उहाँले कम्युनिस्टहरूलाई पुँजीवादी निर्वाचन जित्नु सजिलो नहुने भन्दै शासक पुँजीवादी दलहरूले साम, दाम, दण्ड र भेदको नीति अपनाएर निर्वाचन जितेको तर्क गर्नुभयो ।

नेमकिपाले निर्वाचनलाई शासक दलहरूको देशघाती कदमको विरोधमा सङ्घर्षको रूपमा लिएको भन्दै केन्द्रीय सदस्य गोसाईले यसपटक देशघाती एमसीसी सम्झौता पारित गर्ने दलहरूलाई परास्त गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेमकिपाको तर्फबाट टोखा नगरपालिकाका उम्मेदवारहरूबीच अन्तरक्रिया भएको थियो । टोखा नपामा नेमकिपाको तर्फबाट रवीन्द्र डंगोल प्रमुख र मीना डंगोलले उपप्रमुखमा पदमा उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *