भक्तपुर लिबालीस्थित कभर्ड हलकाे उदघाटन

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० चैत


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित कभर्ड हलको शनिबार बिहान एक समारोहबीच उदघाटन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिजुक्छेँले खेलकुद नियम संगत ढंगले खेलिने एक प्रकारको शारीरिक अभ्यास भएको बताउँदै युग सुहाउँदो खेलकुदको विकास वर्तमान आवश्यकता रहेको बताए ।

व्यक्तित्व विकासमा सबैले समान ढंगले अवसर पाउनुपर्छ भन्दै उनले खेलकुद संस्कृतिकै एउटा भाग भएको र यो जीवन पद्धतिसँग जोडिएको विषय भएको बताए । नगरपालिका, सहकारी संस्थालगायत सम्बन्धित निकायहरुले ज्येष्ठ नागरिकहरुको लागि गरिने शारीरिक अभ्यास सञ्चालनबारे पनि ध्यान दिनुपर्ने बताउँदै उनले कृषि उत्पादन घट्दै जानु, विदेशबाट खाद्यान्न आयात वृद्धि हुँदै जाँदा देश आर्थिक संकटतर्फ धकेलिँदै गइरहेको उनले प्रष्ट पारे ।

भक्तपुर विगतमा खेलकुद पूर्वाधार र प्रशिक्षण अभावले गर्दा यहाँका जनता खेलकुद क्षेत्रमा पछाडि परेको स्मरण गर्दै उनले भक्तपुर नपाले खेलकुद क्षेत्रको विकासमा गरिरहेको गतिविधिहरु प्रशंसनीय भएको औल्याए । साथै विकास निर्माणका गतिविधिमा भक्तपुर नपाले अपनाएको उपभोक्ता मोडलबाट देश विकासमा समेत टेवा पुगेको बताउँदै अध्यक्ष बिजुक्छेँले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने बताए ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको विकास निर्माणका गतिविधिमा उपभोक्ता मोडल सफल तुल्याउन यहाँका उपभोक्ताहरुको ठूलो योगदान रहेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले नगरका २३ वटा ठाउँहरुमा खुल्ला व्यायामशाला स्थापना गरिसकेको बताए । उनले सहिद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरोन्नतिको लागि आवश्यक पहलहरु भइरहेको बताउँदै व्यक्तिको शारीरिक र मानसिक विकासको निम्ति खेलकुदको अत्यन्त ठूलो भूमिका रहेको बताए ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले नगरबासी जनताको मानसिक र शारीरिक स्वास्थ्यको निम्ति भक्तपुर नगरपालिकाले प्राथमिकताका साथ खेलकुद क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउँदै यस किसिमका गतिविधिहरुले नयाँ पुस्तालाई स्फूर्त राख्न र आत्मसम्मानका साथ बाँच्न हौसला मिल्ने बताए ।

प्रदेश सरकारमा ब्याप्त विकृति विसंगतिबारे चर्चा गर्दै सांसद सैंजुले सरकारले अर्थहीन भ्यु टावर निर्माणमा अरबौं रकम खर्च गरिरहेकोमा खेद प्रकट गरे । सरकार जनताका आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै उनले भ्रष्ट ठेक्कापट्टाले गर्दा आज देश बर्बादितिर गइरहेको बताए ।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले कभर्ड हल निर्माणसँगै खेलाडीहरुमा उत्साह थपेको बताउँदै नवनिर्मित कभर्ड हलमा नगरस्तरीय र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता समेत आयोजना भइसकेको जानकारी गराए । वडाका गतिविधिहरुबारे अवगत गराउँदै वडाध्यक्ष खायमलीले भक्तपुर नपा वडा नं. ८ बाट पाँच वर्षको कार्यकालमा करिब ८३ वटा वडास्तरीय र नगरस्तरीय योजना सम्पन्न गरिसकेको र लिबाली क्षेत्रमा खानेपानी पाइपलाइन विस्तार गरी आलोपालो खानेपानी वितरण समेत हुँदै आइरहेको बताए ।

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले खेलकुद क्षेत्रमा भएको गतिविधिबाट सबैको ध्यान आकर्षित गर्न सफल भएको बताउँदै नपाले विभिन्न समयमा आयोजना गरेका अन्तर नगर र विद्यालयस्तरीय प्रतियोगिताले खेलाडीहरुलाई क्रियाशील तुल्याएको बताए । उनले नवनिर्मित कभर्ड हल नगरबासीहरुको स्वास्थ्य र राष्ट्रको निम्ति खेल्ने खेलाडीहरुको लागि अधिकत्तम उपयोग हुनु आवश्यक रहेको बताए ।

लिबाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीले हल निर्माणका गतिविधि र आय व्यय प्रस्तुत गर्दै कभर्ड हल निर्माणले भक्तपुरका सबै खेल विधाका खेलाडीहरु लाभान्वित हुने बताए । उनले दुई चरणको उपभोक्ता समितिबाट निर्मित लिबालीको कभर्ड हल निर्माणको कूल लागत रु. १ करोड २ लाख ९७ हजार ९५ रुपैयाँ रहेको उल्लेख गरे ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, ९ वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्व र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोलेको थियो ।

सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपा वडा नं. ८ का महिला स्वयम्सेविकाहरुलाई धन्यवादज्ञापन पत्र प्रदान गरेको थियो भने कार्यक्रमका विशेष अतिथि बागमती प्रदेश सभा सदस्य सृजना संैजु, कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले वडा नं. ८ मा भएका नगरस्तरीय र वडास्तरीय विकास निर्माण कार्यका उपभोक्ता समितिका पदाधिकारीहलाई धन्यवादज्ञापन पत्र पदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *