अमर सहिद तथा योद्धाहरूको सम्मानमा सहिद दिवस

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ८ फागुन

निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न भएको वाममोर्चा र नेकाको संयुक्त आन्दोलनमा वीरगति प्राप्त सहिदहरू र योद्धाहरूको सम्मान र स्मरण हालसम्मका कुनै पनि सरकारले गरिरहेका छैनन् । २०४६ साल फागुन ७ गतेदेखि सुरू भएको उक्त संयुक्त आन्दोलनको दोस्रो दिन भक्तपुरबाट कृष्णराम दुवाल, राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य र पछि पुष्परत्न शाक्य र महेश श्रेष्ठले वीरगति प्राप्त गरेका थिए भने सयौँ योद्धा घाइते भएका थिए । मौलिक र राजनीतिक अधिकार प्राप्त गर्न या बहुदलीय व्यवस्था ल्याउन भएको सो ऐतिहासिक आन्दोलनमा ज्यानको बाजी राख्ने अमर सहिद तथा योद्धाहरूको सम्मान र स्मरणमा भक्तपुरमा फागुन ८ गतेको दिनलाई सहिद दिवसको रूपमा मनाइँदै आएको हो ।

समाज परिवर्तनको निम्ति भएको पञ्चायतविरोधी आन्दोलनमा वीरगति प्राप्त सहिदहरूको स्मरणमा नेपाल क्रान्तिकारी किसान सङ्घ, स्थानीय पुस्तकालय र सामाजिक सङ्घ–संस्थाले प्रत्येक वर्ष फागुन ८ गते सहिद दिवस मनाइरहेका छन् । नेक्राकिसङ्घ जिल्ला समिति भक्तपुरले आज आइतबार बिहान सहिद उद्यानमा सहिद दिवस मनाउने कार्यक्रम राखेको छ । त्यस्तै अन्य टोल–टोलमा पनि सहिद दिवस मनाइँदै आएको हो । उक्त कार्यक्रम सफल पार्न आयोजक समितिले पार्टी तथा जनवर्गीय सङ्गठनका कार्यकर्ता, किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, कर्मचारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।

देशको लागि ज्यानको बाजी राख्ने सहिद र योद्धाहरूको सम्मान र स्मरण त के नेकाको नेतृत्वमा बनेको सरकारका प्रम देउवाले हालैमात्र सहिदहरूको सूची तयार गर्न दिए । सरकारसँग अहिलेसम्म सहिदहरूको सूची पनि नहुनु विडम्बनाको विषय हो । प्राप्त अधिकारको प्रयोग गर्दै सहिदहरूको इच्छा पूरा गर्न या बहुमत जनताको सेवा गर्ने व्यवस्था प्राप्त गर्न देशमा अझै आन्दोलन र सङ्घर्षको आवश्यकता छ । विगतदेखि हालसम्मका सरकारहरू देश र जनताप्रति जिम्मेवार नभएको कारण सत्तारूढ दलका नेता र मन्त्रीहरू भागबन्डा र सत्तास्वार्थमा लागिरहे । सरकारहरू विदेशी शक्ति राष्ट्रहरूको पक्षपोषण गर्न र उनीहरूको इसारामा अघि बढिरहे । दलको सिद्धान्त र विचारअनुसार राजनीति नगरी सरकारमा जाने, सरकार ढाल्ने र सरकार टिकाउने उद्देश्यले दलगत र व्यक्तिगत स्वार्थमा अल्झेर राजनीति गरिरहेको हुँदा देशमा कुनै मौलिक परिवर्तन भएन, जनताले राहतको अनुभूति गर्न पाएनन् र देश पराधीन भइरह्यो । देशमा आमूल परिवर्तनविना बहुमत जनताको हित हुनेछैन । वर्गसङ्घर्षविना समाजवादी गणतन्त्र सम्भव छैन । यसको लागि जनतामा राजनीतिक चेतना र सङ्गठित शक्तिको आवश्यकता छ । कम्युनिस्टहरू आमूल परिवर्तन ल्याउन समाजवादी प्रचार अभियान आजको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *