भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठको विदाई

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १३ कार्तिक


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा भएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई सोमबार एक कार्यक्रमको आयोजना गरी बिदाई गरे ।

बिदाइ कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठको कार्यकालमा शान्ति सुरक्षा, जात्रा व्यवस्थापन, विपद् व्यवस्थापनलगायतका विविध विषयमा काम गर्न सहज भएको बताउँदै जनताको बीचमा पुग्ने र उनीहरुको समस्या बुझेर काम गर्ने विषयमा प्रजिअ श्रेष्ठ अब्बल रहेको बताए ।

प्रजिअ श्रेष्ठको कार्यशैली र कामप्रतिको लगाव स्मरणयोग्य भएको बताउँदै उनले भक्तपुरको विकासमा प्रजिअ श्रेष्ठले सन्तुलित भूमिका खेलेको बताए । संकटको समयमा गरेको कामको मूल्यांकन जनताले गर्नेछन् भन्दै उनले भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा प्रजिअ श्रेष्ठले समन्वयकारी भूमिकाको स्मरण गरे ।

बिदाइ कार्यक्रममा बोल्दै प्रजिअ रोशनीकुमारी श्रेष्ठले भक्तपुर जिल्लाको विकासमा भक्तपुर नपाको अभिभावकीय भूमिका सँधै स्मरणयोग्य रहने बताउँदै संघ सरकारको प्रतिनिधित्व गरी प्रदेश र स्थानीय सरकारहरुसँग आफूले सँधै समन्वयकारी भूमिकामा काम गरेको चर्चा गरे ।

भक्तपुरका अनुभवी जनप्रतिनिधिसँग काम गर्ने अवसरमा पाएकोमा कृतज्ञता ज्ञापन गर्दै उनले इमानदारिता र नैतिक बलले आफ्नो कर्तव्य पूरा गर्न पाएकोमा गौरव महसुस भएको बताए ।

उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोलेको थियो । सोही क्रममा प्रमुख प्रजापतिले प्रजिअ श्रेष्ठलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नपाका महत्वपूर्ण प्रकाशनहरु उपहार स्वरुप प्रदान गरे ।

प्रजिअ श्रेष्ठ १३ महिनाअघि प्रमुख जिल्ला अधिकारी भएर भक्तपुर आएको थियो । उनको हाल गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् न्युनीकरण प्राधिकरणमा सरुवा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *