भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न, मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव हुने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १० कातिक

भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बसेकाे छ ।
बैठकमा प्रमुख प्रजापतिले भने, “भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव हो ।”
उनले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने पाँचदिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति र उपसमितिहरू गठन गरिएको जानकारी गराए।
भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उनले महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीहरूलाई सहयोग हुने अपेक्षा गरिएको बताए।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको रूपमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रूपमा सदुपयोग गर्नुपर्ने बताए।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताए।
भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँचदिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताए।
भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरूबारे सङ्क्षेपमा प्रस्तुतीकरण गरेको थियो ।
कार्यक्रममा उपस्थित विभिन्न समितिका सदस्यहरूले भक्तपुर महोत्सव सभ्य र भव्यरूपमा सफल पार्न आ–आफ्नो तर्फबाट रचनात्मक सुझाव प्रस्तुत गरेको थियो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *