
चिकित्सक पेशामा कुनैदिन पनि रमाइलो मात्रै गरेर बस्छु भन्ने हुँदैन। चिकित्सकका रुपमा काम गर्न थालेको २ दशक भन्दा लामो समय भइसक्दा दशैं तिहारमा साइतको टिका लगाएको ३,४ पटक मात्रै मलाई याद छ।
सामान्यतया टिकाको साइतका बेला चिकित्सकहरुको राउन्डको समय पर्छ । धार्मिक विश्वासका आधारमा साइतको टिकाको आफ्नै महत्व होला तर चिकित्सकका लागि बिरामी जति महत्वपूर्ण साइतको टिका हुँदैन । त्यसकारण म टिका भन्दा पनि बिरामी अवलोकनको राउन्डलाई नै प्राथमिकता राख्छु ।
जब सर्जनलाई ब्रेन ह्यामरेज भएको सुने
एकदिन छिमेकी तिहारका बेला विशेष प्रकारको भेटघाटसहित भोजको आयोजना गरेका थिए । उक्त भोजमा पुगेको मात्रै थिएँ, त्यही बेला अस्पतालबाट फोन आयो ।
फोनबाट नेपालकै एक विख्यात सर्जन नै ब्रेन ह्याम्रेज भएको जानकारी पाउनासाथ म अस्पतालतर्फ लागें र उपचारमा खटिएँ। त्यो दिनको सम्झना अझै पनि छिमेकीले मलाई गराइरहन्छन् ।
विभागीय प्रमुखको जिम्मेवारी
हाल न्युरो सर्जरी विभागको प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गरिरहँदा यस विभागमा कार्यरत चिकित्सक तथा नर्स सबैलाई मिलाएर चाडपर्वको बिदा दिने गरेको छु ।
घरको अभिभावकले जस्तै भूमिका निर्वाह गरेको छु भन्ने लाग्छ । जसरी अभिभावकहरुले आफ्ना इच्छालाई थाती राखेर सन्तानको खुसी हेर्छन्, त्यही उदाहरण मलाई पनि लागु हुन्छ ।
दशैंको ड्युटी मिलाउँदा सबैभन्दा जुनियरबाट सुरु गरेर अन्तिममा मेरो ड्युटी मिलाउने गर्छु । वीर अस्पतालको न्युरो सर्जरी विभागमा सबै गरेर करिब १२५ कर्मचारी कार्यरत छन्।
टिका लगाउने अवसरबाट कोही पनि वञ्चित नहुन् भनेर हामीले दशैंको टिकाका दिन ४ घन्टाको ड्युटी मिलाएका छौं।
डा देवकोटाले दिएको शिक्षा
अस्पतालमा आउनु हाम्रा लागि नित्यकर्म जस्तै भइसकेको छ । जसकारण पहिलो प्राथमिकता नै अस्पताल भइसकेकोले कुनै पनि चाडपर्वले छुँदैंन । नेपालमा भएको कुनै पनि दिन म अस्पताल नगएको रेकर्ड नै छैन।
न्युरा सर्जरीका मेरा अगुवा स्वर्गीय डा उपेन्द्र देवकोटा, डा गोपालरमण शर्माबाट मैले लिएको शिक्षा पनि यही हो। बिहान उठिसकेपछि मेरो पहिलो काम नै अस्पताल पुगेर राउन्ड सकाउनु नै हो। बिरामी अवस्था अनुसारको उपचार दिएर पर्व मनाउँदाको आत्मसन्तुष्टी नै भिन्न हुन्छ।