विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले देशको हित नगर्ने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ भदाै

विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले देशको हित नगर्ने

साहित्यकार र संस्कृतिकर्मीहरूमाझ का. रोहित

त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या, आयोजक समितिको आयोजनामा नेपालभाषा साहित्य क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले सहभागीहरूमाझ विविध विषयमा स्पष्ट पारे।

अध्यक्ष बिजुक्छेँले साहित्य समाजको ऐना र राजनीतिको हतियार भएको हुँदा नयाँ पुस्तालाई वर्गीय तथा राजनैतिकरूपमा सचेत गर्नुपर्ने कुरा राखे। गलत साहित्यले समाजलाई असल मार्गमा नलगी युवालाई भ्रमित पार्ने हुँदा आलोचना र आत्मआलोचनाले व्यक्तिको विकास र वैचारिक उन्नयनमा टेवा पुर्‍याउने विचार राखे।

साहित्यकारहरूले देश र जनताको दुःख पीडालाई आफ्नो लेखनको विषय बनाएमा त्यसले साँचो अर्थमा जनताको सेवा हुने चर्चा गर्दै देशलाई दुःख दिने देशी विदेशी शक्ति र देशमा भइरहेको विकृति विसङ्गतिप्रति लक्षित गर्दै त्यसको विरुद्ध जनमत तयार गर्नु साहित्यकारहरूको कर्तव्य भएको बताए।

उनले अगाडि भने, “नेपाललाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले आफ्नो प्रभावमा पारी देशलाई गलत दिशामा धकेलेको हुँदा त्यसको विरोध गर्नु जरुरी छ ।” उनले भने, “विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले हाम्रो देशको हित गर्दैन । सिद्धान्त र विचारले प्रेरित भई देश र जनताप्रति आफ्नो कर्तव्य पूरा गरेमा मात्र आफ्नो दायित्व पूरा हुन्छ ।”

गलत क्रियाकलापको डटेर विरोध नगरेमा त्यसले देश र जनतालाई दीर्घकालीन नकारात्मक असर पर्ने विचार पनि उनले राखे । उनले भने, “सिद्धान्त र विचार कुनै पनि हतियारभन्दा बलियो हुन्छ । समाजका हरेक सदस्यलाई प्रारम्भिक अवस्थादेखि नै देशभक्तिको भावनाले ओतप्रोत बनाउनुपर्छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले तःमुंज्याले विगत लामो समयदेखि देश र जनताको हितमा निरन्तर आवाज बुलन्द गरिरहेको कुरा राखे ।

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले जनताको साहित्यमा विचार पक्ष प्रधान हुने विचार राख्दै विचारलाई कला पक्षले सजाउनुपर्ने कुरा राखे ।

आयोजक समितिका अध्यक्ष बलराम सिबन्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्य समितिका संयोजक नारायणभक्त भेले, सांस्कृतिक समितिका संयोजक मङ्गलेश्वर ध्वजूले पनि बोलेको थियो । कार्यक्रममा सहभागी साहित्यकारहरूले राखेको जिज्ञासाबारे अध्यक्ष बिजुक्छेँले स्पष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *