पार्टी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २८ जेठ

पार्टी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड

नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ।

जनवर्गीय सङ्गठन, पेशागत सङ्गठन तथा पार्टी नगर समितिहरूको प्रतिवेदनसमेत पेश गरिएको सो भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कार्यकर्ताहरू फाइदा–बेफाइदामा नफसी देश र जनताको निःस्वार्थ सेवामा इमानदारीपूर्वक लाग्न निर्देशन दिए।

अध्यक्ष रोहितले पार्टी कक्षा सञ्चालन गरी कार्यकर्ताहरूलाई बौद्धिक तथा राजनीतिकरूपमा तयार बनाउन जोड दिए। उनले भने, “पार्टी समितिहरूमा कक्षा सञ्चालन नगरिए खराबी एवं कमजोरीहरू तुरुन्तै देखापर्छन् । कार्यकर्तामा सैद्धान्तिक ज्ञानमा समस्या भए व्यापक दृष्टिकोणको विकास नहुने र व्यक्तिगत स्वार्थमा फस्ने खतरा बढ्छ ।”
पार्टी कार्यकर्ताहरूले नयाँ पुस्ताको सैद्धान्तिक स्तर उकास्ने विषयमा पनि विशेष ध्यान दिन मार्गनिर्देश गर्दै कार्यकर्तामा व्यावहारिक एवं सामाजिक ज्ञान अनिवार्य भएको विचार राखे ।

पुँजीपति वर्गले कामदार जनताबिच विभाजन ल्याउने र असल राजनीतिक कार्यकर्ताहरूलाई विचलित पार्नेतर्फ सजग रहनुपर्नेबारे अध्यक्ष रोहितले प्रकाश पारे। अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै उनले भने “संरा अमेरिकी साम्राज्यवाद उसकै ‘करेसाबारी’ ल्याटिन अमेरिकाबाट लखेटिँदै छ ।”

सूचना प्रविधि प्रयोग गरी संसारभर कम्युनिस्ट आन्दोलन दबाउन संरा अमेरिकी साम्राज्यवाद सक्रिय रहेको र नेपालमा पनि अनेक चालबाजी गरिरहेको अध्यक्ष रोहितले प्रस्ट पारे। उनले सही विचार प्रचार गर्न र शत्रुहरूको गलत विचारको खण्डन तथा विरोध गर्न जनताका प्रचारयन्त्र एवं माध्यम बलियो बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष रोहितले भने, “अन्तर्राष्ट्रिय परिस्थितिबारे हामी आँखा चिम्लेर बस्नु गलत हुनेछ । विभिन्न देशका विषयमा ज्ञान तथा विश्वका मजदुर आन्दोलनबारे जानकारी भएका कार्यकर्ताबाट क्रान्तिको बढ्ता सेवा गर्न सम्भव हुनेछ । सन् १९१७ मा रुसमा क्रान्ति गर्ने मजदुरहरू बुद्धिजीवी थिएनन् तर लेनिनका कार्यकर्ताहरू कडा मेहनतपूर्वक अध्ययन–लेखन गर्थे ।”

नेमकिपाका सचिव प्रेम सुवालले जिम्मेवार कार्यकर्ताले इमानदारीपूर्वक जनताको सेवा नगरे समाज झन् बढी पछाडि पर्ने र परिवर्तन ढिलो हुने विचार व्यक्त गरे। नेमकिपाले शासक दलहरूका देशघाती कदमहरूविरुद्ध निर्भिकतापूर्वक सङ्घर्ष चालु राखेको चर्चा गर्दै उाले गरीब तथा शोषित–पीडित जनता र देशको पक्षमा नेमकिपा एक्लै भए पनि सङ्घर्षरत भएकाे बताए । उनले राष्ट्रिय सवालमा सङ्घर्ष नगर्ने र कुनै विचार, सिद्धान्त नभएको पार्टी वैकल्पिक शक्ति बन्न नसक्ने स्पष्ट पारे।

उनले देश डरलाग्दो आर्थिक सङ्कटतर्फ उन्मुख भएको चर्चा गर्दै नागरिक विधेयकको प्रमाणीकरणमार्फत नेपालमा नेपाली अल्पमतमा पार्न खोजिएको हुनाले नेमकिपाले विरोध गरेको बताए। नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले पार्टी कार्यकर्ताहरूको सक्रियता, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनहरूको परिचालनमार्फत देश र जनताको सेवा एवं नयाँ नयाँ सङ्घर्षको तयारीमा जोड दिए।

उनले जनताबिच निरन्तर पुग्ने, जनताबाट सिक्ने र जनताकै सेवा गर्ने राजनीतिक कार्यकर्ताको धर्म भएकाे बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *