भक्तपुर नगरपालिकाका मेयर नागरिक नायक २०८० बाट सम्मानित

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
काठमाडौं, १३ बैशाख


नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरी नेपाली समाजका लागि उत्कृष्ट योगदान पु¥याउने ३ जनालाई ‘नागरिक नायक’ को सम्मान प्रदान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ३ जनालाई नागरिक रिपब्लिक मिडियाले नागरिक नायकको सम्मान प्रदान गरेको हो ।
स्थानीय तहमा देशकै लागि उदाहरणीय काम गरेकोमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ‘नागरिक नायक २०८०’ को रुपमा सम्मान गरिएको हो ।

भक्तपुर नगरपालिकाको तर्फबाट नागरिक नायक २०८० को सम्मान ग्रहण गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आजको सफलता नेमकिपाका अग्रज नेता कार्यकर्ताले दशकौंदेखि इमान्दारीपूर्वक गर्दै आएका कामकै देन भएको बताए । उनले उक्त सम्मानलाई भक्तपुरका जनताले गरेको कामको सम्मानको रुपमा आफुले लिएको बताए ।

उनले भक्तपुरका जनप्रतिनिधिहरुको इमानदारिता र निःस्वार्थ रुपले देश र जनताको सेवा गर्ने भावनाले गर्दा नगरपालिकाले नविन अभ्यासहरु गर्न सफल भएको बताए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमाण बिजुक्छेले २०५६ सालतिर १५ वर्ष भित्र एक घर एक स्नातकको घोषणा गर्नु भएपछि भक्तपुरमा शैक्षिक परिवर्तन भएको सो अवसरमा उनले बताए ।

भक्तपुर नपाले हाल ८ वटा कलेज सञ्चालन गरी देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको र ढिलोचाडो भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाउनेमा उनले आशा व्यक्त गरे ।

नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित)ले लेखेको १०० वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्ने आधारहरु निर्माणमा भक्तपुर नपा अग्रसर रहेको प्रमुख प्रजापतिले बताए ।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको संवादमा उनले भने भक्तपुर नपा देशकै एकमात्र स्थानीय तह हो जसले सम्पदा पुनःनिर्माण र विकास निर्माणमा विदेशीको सहयोग अस्वीकार गरेको छ । भक्तपुरबासी जनताकै साथ र सहयोगमा अघिल्लो कार्यकालमा मात्र भूकम्पबाट भत्केका १२४ वटा सम्पदा र दोस्रो कार्यकालको ११ महिनामा १४ वटा भन्दा बढी सम्पदा पुनःनिर्माण गरी सकेको र हाल २१ वटाभन्दा बढी सम्पदा निर्माणाािधन अबस्थामा रहेकोमा गौरवको अनुभूति भएको छ ।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको थियो भने नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै देश र समाजको निःस्वार्थपूर्वक सेवा गर्ने व्यक्ति नै समाजको नायक भएको बताए । कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ र लैंगिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मी घलानलाई पनि नागरिक नायक २०८० ले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *