स्ववियु चुनावमा मतदानबाट वञ्चित गराइएको भन्दै रिट

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता

सुर्खेत, ३० फागुन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् ।

‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम) मा अध्ययनरत तीन जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदीप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

विद्यार्थीहरुले विश्वविद्यालयको नाममा रिट दायर गरेको उच्च अदालत सुर्खेतका सूचना अधिकारी सरोजनिधि वाग्लेले जानकारी दिए । ‘उहाँहरुले आज रिट दायर गर्नुभएको छ । भोलि एकल इजलासमा पेस हुन्छ’, उनले भने ।

मध्यपश्चिम विश्वविद्यालयमा ३ चैतमा स्ववियु निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा मोसुममा करिब ४०० विद्यार्थीहरूले भोट हाल्न नपाउने भएका छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ ।

उनीहरूले अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् ।

मुसोमको कार्यविधिमा मुसोमका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको हितका लागि प्राध्यापक हित समाज, कर्मचारी हित समाज र विद्यार्थी हित समाज गठन गर्ने व्यवस्था गरिएको छ । सोही अनुसार मुसोममा कुनैपनि राजनीतिक संघसंगठन र उनीहरुको प्रभाव नरहने व्यवस्था गरिएको छ ।

तर विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य हुने व्यवस्था गरिएको छ ।
सोही व्यवस्थामा टेकेर विद्यार्थीहरुले आफूहरुलाई मताधिकार दिनुपर्ने माग गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन कुनैपनि राजनीतिक संगठन नभएकाले पनि आफूहरुले मत हाल्न पाउनुपर्ने मुसोमका विद्यार्थीहरुको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *