देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २० भदाै

काठमाडौंमाभन्दा ललितपुरमा दोब्बर बढी

कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।

महाशाखाको तथ्यांकका अनुसार सन् २०२२ देखि सेम्टेम्बर ४ सम्ममा ५ हजार २९ जनामा डेंगु भएको पुष्टि भइसकेको छ। सो अवधिसम्ममा डेंगु पुष्टि भएका ५ हजार २९ जनामध्ये २ हजार ८१९ जना काठमाडौं, ललितपुर र भक्तपुरका छन्। काठमाडौं उपत्यकाका अस्पतालहरुमा डेंगु ज्वरोका बिरामीहरु बढिरहेका छन्।

महाशाखाको तथ्यांकका अनुसार गत मेमा काठमाडौंमा  एक जनामा डेंगु पुष्टि भएको थियो भने ललितपुरमा जुनमा एक जनामा मात्र डेंगु देखिएको थियो। तर जुनमा भने काठमाडौंमा ३५, ललितपुरमा ९९ र भक्तपुरमा ६ जनामा डेंगु देखिएको थियो।

जुनदेखि बढ्न थालेको डेंगु अगष्ट र सेप्टेम्बरमा अझै बढेको तथ्यांकले देखाउँछ। अगष्टमा काठमाडौंमा ७२७, ललितपुरमा १ हजार ५५८ र भक्तपुरमा ८६ जनामा डेंगु पुष्टि भएको छ। यस्तै सेप्टेम्बरको ४ दिनमा मात्रै काठमाडौंमा १२४, ललितपुरमा १७४ र भक्तपुरमा ७ जना गरी ३०५ जनामा डेंगु पुष्टि भइसकेको छ।

महाशाखाका अनुसार जनवरीदेखि सेम्टेम्बरसम्ममा ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ। मुस्ताङ र हुम्लामा भने डेंगु पुष्टि भएको तथ्यांक छैन।

७५ जिल्लामध्ये १० जिल्लामा ५० जना भन्दा बढीमा डेंगु पुष्टि भएको छ। जनवरीदेखि सेप्टेम्बर ४ सम्ममा १० जिल्लामा मात्र ४ हजार २३७ जनामा डेंगु पुष्टि भएको तथ्यांक छ। जसमा सबैभन्दा धेरै ललितपुरमा देएको छ।

तथ्यांक अनुसार मकवानपुरमा ५९८, रुपन्देहीमा ४३९, धादिङमा १११, तेह्रथुममा ८८, सिन्धुलीमा ६६, गुल्मीमा ५९ र संखुवासभामा ५७ जनामा डेंगु पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए।

सन् २००४ पछि हरेक वर्ष डेंगोको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६६ जनामा डेंगु पुष्टि भइसकेको छ।

सन् २००४ देखि सन् २०२२ को सप्टेम्बर ४ सम्ममा ३० हजार ९९६ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ।

काठमाडौं उपत्यका सहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ।

यस्तै डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान र लार्भा नष्ट तथा सचेतनामुलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तो छ विगत १९ वर्षदेखिको डेंगुको तथ्यांक

dengue data 19 years.JPG

के हो डेंगु?, कसरी बच्ने?
डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्छ।

यो लामखुट्टेले प्राय: दिउँसोको समयमा टोक्छ। यो लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि सक्रिय हुने गर्छ।

डेंगुको लक्षण  
– एक्कासी उच्च ज्वरो आउने
– ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने
– अत्यधिक टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने
– शरीरमा बिमिरा आउने
– रिंगटा लाग्ने
– वाकवाकी लाग्ने, बान्ता हुने।

डेंगुका गम्भीर लक्षण
– लगातार बान्ता हुने
– बान्तामा रगत देखा पर्ने
– धेरै पेट दुख्ने
– श्वासप्रश्वासमा समस्या आउने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने
– बेहोस हुने।

बच्ने उपाय
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने
– सुत्दा झुलको प्रयोग गर्ने
– झ्याल-ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने
– लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने।

डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फूल पार्छ। पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ।

डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *