जयराम बासुकलाकाे १९ औं स्मृति सभा सम्पन्न

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ साउन

तत्कालीन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाकाे १९ औं स्मृति सभा ताथलीमा सम्पन्न भएको छ । जयराम स्मृति अक्षय काेषकाे आयाेजनामा भएको साे कार्यक्रममा स्नातकोत्तर तह उत्तीर्ण ४४ जनालाई सम्मान समेत गरिएको छ ।
सम्मान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पार्टीकाे इमानदार कार्यकर्ताका रूपमा बासुकला रहेकाे चर्चा गर्दै उनकाे याेगदानलाई नयाँ पुस्तामाझ फिँजाउनु पर्नेमा जाेड दिए ।

उनले स्वर्गीय बासुकलाकाे निस्वार्थ सेवाका कारण ताथलीमा विकासकाे मूल फुटेकाे उल्लेख गर्दै अहिलेका पार्टी कार्यकर्ताका लागि समेत उनी पथप्रदर्शक भएकाे चर्चा गरे ।
देशकाे सामयिक विषयमा बाेल्दै उनले जनताले शिक्षा, स्वास्थ्य, राेजगारी सजिलो गरि नपाउनुकाे कारण सरकार नै भएकाे जनाएका थिए । उनले सिंहदरबार राम्रो नभएसम्म देश बन्दैन भन्दै सरकारकाे नेतृत्व गर्ने दलहरू जनताप्रति बफादार हुनुपर्ने आवश्यकता देखाए ।

सुन तस्करीकाे प्रसंग उठाउँदै सांसद सुवालले सुन तस्करी छानवीनका लागि शासक दलमात्र नभएर सबै दलकाे प्रतिनिधित्व हुनुपर्ने बताए । उनले संसदमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, तस्करी लगायतका विषयमा आवाज उठाउँदै आएकाे उल्लेख गर्दै सिंहदरबारमा जाने दलहरू गतिलो नभएसम्म देश गतिलो नहुने जनाए ।
युवाहरू विदेश जाँदैमा देशकाे विकास नहुने जनाउँदै युवाले विदेश जाने साेच त्याग गर्नुपर्नेमा जाेड दिए । सांसद सुवालले देश र भूगोल सुहाउँदो शिक्षा र जनशक्ति तयारीका लागि नेमकिपाले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनका लागि लामाे समयदेखि आवाज उठाउँदा समेत शासक दलहरूले त्यसलाई बेवास्ता गरेकाे दुखेसो पाेखे । `जुन वडामा प्लटिङ बढी भयाे, त्याे वडा बिग्रियाे भन्ने सम्झनु पर्छ । जनताले जग्गा बेचेकाे हैन, देश बेचेकाे हाे भन्ने बुझ्नुपर्छ´, उनले भने ।

कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गाेसाइँले स्वर्गीय बासुकलाकाे याेगदान विषयमा थप अध्ययन र छलफल गरि नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्न पहल गर्न सुझाव दिए । साे अवसरमा चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यात, नेमकिपा ताथलीका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, नेमकिपा चाँगुनारायणका उपाध्यक्ष केशव तिमल्सिना, सम्मानित व्यक्तिमध्ये उद्वव ढुंगाना, काेषका अध्यक्ष चन्द्रबहादुर थुयाजु, सदस्य एकबहादुर खत्री, देवी माविका प्रधानाध्यापक राजाराम छुकां, घनश्याम खड्कालगायतले स्वर्गीय बासुकलाकाे याेगदानकाे चर्चा गरेका थिए ।

कार्यक्रममा स्वर्गीय बासुकलाकाे तस्बिरमा पुष्पार्पण गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *