प्यालेस्टाइनमा इजरायलको भित्री नियत

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

क्रिस हेजेज

एजेन्सी, १९ कात्तिक

प्यालेस्टाइनमा इजरायलको भित्री नियत

संरा अमेरिका र आफ्ना युरोपेली मित्र देशहरूको आडमा इजरायलले प्यालेस्टाइनी सहर गाजामा भीषण हमला गरिरहेछ । यो युगोस्लाभिया युद्धपछिकै सबैभन्दा खराब जातीय सफाया हो । दक्षिणी सीमानजिकै राफेहमा स्थापित इजिप्टका शरणार्थी शिविरहरूमा बसिरहेका लाखौँ प्यालेस्टाइनीहरूको हत्या गर्नु नै इजरायली हमलाको नियत देखिन्छ । प्यालेस्टाइनीहरूमाथि मात्र होइन आसपासको क्षेत्रमा पनि यसको भयावह प्रभाव पर्नेछ । उत्तरमा लेबनानको हेजबुल्लाह समूह तथा सिरिया र इरानसँग पनि सशस्त्र मुठभेड हुनसक्छ ।

संरा अमेरिकाको बाइडेन सरकारले इजरायली पागलपनको आगोमा घिउ थप्ने काम गर्दै छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा गाजा सहरमा खाना, औषधि, पानी र इन्धनलगायत मानवीय सहयोग पठाउने प्रस्तावमा छलफल भयो । त्यसको विपक्षमा भिटो प्रयोग गरेर संरा अमेरिकाले गाजामा उद्धारका सामग्री पठाउनबाट रोक्यो । उसले युद्धविराम प्रस्ताव पनि रोकिराखेको छ । यसको विपरीत उसले सुरक्षा परिषद्मा इजरायललाई आत्मरक्षा गर्ने अधिकार छ भन्ने सङ्कल्प प्रस्ताव पेस गरेको छ । उक्त प्रस्तावमा ‘सो क्षेत्रका छापामार र आतङ्कवादी समूहलाई हतियार निर्यात गरेर शान्ति एवम् सुरक्षालाई खतरामा पार्ने’ इरानको कार्य रोक्नुपर्ने माग पनि छ ।

संरा अमेरिका र उसका पश्चिमा साझेदारहरू नैतिकरूपमा खोक्रो भइसकेका छन् । यहुदीहरूविरुद्ध चलेको नाजी यातनागृह देखेर पनि हात बाँधी बस्ने जातीय सफायाका मौन समर्थकको भूमिकामा अहिले उनीहरू छन् ।

द्वन्द्वमा परेर अहिलेसम्म गाजामा मात्र १४ सय इजरायली र कम्तीमा ४६ सय प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् । इजरायलले सिरियास्थित दुई विमानस्थलमा दोस्रो हवाई हमला गरिसकेको छ । त्यहाँबाट हेजबुल्लाह समूहले दैनिक रकेटलगायत हतियार खरिद गरिरहेको थियो । त्यसैगरी इराक र सिरियाका अमेरिकी सैनिक अखडाहरूमाथि शिया समूहले हमला गरिरहेका छन् । अमेरिकी मिसाइल विनाशक यूएसएस कार्नेले गत बिहीबार तीनवटा क्रुज मिसाइल नष्ट गरेको छ । त्यसलाई यमनका हुथीहरूले इजरायलमाथि प्रहार गरेको अनुमान छ ।

आफूले कब्जा गरिसकेको पश्चिम किनार क्षेत्रमा पनि इजरायलले दैनिक प्रतिरोधको सामना गर्दै छ । ठाउँठाउँमा झडपहरू भइरहेका छन् । आइतबार उसले येनिन शरणार्थी शिविरस्थित एउटा मस्जिदमाथि बमबारी ग¥यो । दुईजना मानिस मारिए । पश्चिम किनारका प्यालेस्टाइनी नगरहरूमा सशस्त्र यहुदी बासिन्दाहरूले मारकाट मच्चाइरहेका छन् । अक्टोबर ७ मा हमास र अन्य प्रतिरोधी लडाकुहरू एकसाथ इजरायलभित्र पसे । त्यस यता इजरायली सेना र तिनीहरूले मिलेर पश्चिम किनारमा कम्तीमा ९० प्यालेस्टाइनीहरूको हत्या गरिसकेको राष्ट्रसङ्घको मानवअधिकार शाखाले जनाएको छ । गत दुई हप्तामा पश्चिम किनारमा १ हजार र गाजा सहरमा ४ हजार प्यालेस्टाइनी कामदारहरूलाई पक्राउ गरिएको छ । यसबिच इजरायली जेलमा प्यालेस्टाइनी कैदीहरूको सङ्ख्या दोब्बर भएर १० हजार पुगेको छ । तीमध्ये आधा राजनीतिक बन्दी हुन् ।

“अधिकांश कैदीहरूको हातखुट्टा भाँचिएको छ । तिनीहरूलाई सराप्ने, अपमानित गर्ने, जथाभावी गालीगलौज गर्ने काम भइरहेको छ । तिनको हात पछाडि बाँधिएको छ भने हत्कडीलाई सहनै नसकिने गरी कस्दै लगिएको छ । तिनलाई नाङ्गै बनाएर अपमानित गर्दै सामूहिक खानतलासी लिइँदै छ”, शरणार्थी मामिलाका प्यालेस्टाइनी अधिकारी कादुरा फारेसले पत्रकार सम्मेलनमा बताए ।
बिबिसीलाई इजरायली मानवअधिकार संस्था बिसेलेमले जनाएअनुसार अक्टोबर ७ को हमला यता सारा संसार र स्थानीय बासिन्दाहरूको ध्यान गाजामा केन्द्रित भइरहेको मौका छोपी इजरायली कब्जाकारीहरूले व्यवस्थितरूपमा पश्चिम किनारको भूमि कब्जा गर्न खोजिरहेका छन् ।
इजरायलमा इजरायली नागरिकता लिएका र जेरुसलेमको आइडी भएका प्यालेस्टाइनीहरूलाई दिनुसम्म सास्ती दिइँदै छ । तिनलाई शिविरमा राख्ने, पक्राउ गर्ने तथा जागिर र विश्वविद्यालयबाट निकाला गरिँदै छ । तिनीहरूविरुद्ध इजरायली कारबाहीलाई जङ्गली सिकारसँग तुलना गरिँदै छ । १ लाख ५२ हजारभन्दा बढी इजरायलीहरूलाई गाजा र लेबनानको सीमानजिकका इजरायली गाउँसहरबाट बाहिर सारिँदै छ ।

इरानलाई स्थानीय युद्धमा फसाउन संरा अमेरिका उसलाई सैनिक कारबाही गर्न उक्साउने प्रयासमा छ । इरानलाई भड्काउन उसले मध्यपूर्वमा थप २ हजार सेना तैनाथ गर्दै छ । उसले फारसी खाडीमा हमलाकारी समूह तैनाथ गर्नेछ र सो क्षेत्रमा थप हवाई रक्षा प्रणाली जडान गर्नेछ । युएसएस आइजनहावर तथा अन्य हमलाकारी समूहलाई गत साता पूर्वी भूमध्यसागरबाट फारसी खाडीतिर मोडिएको छ । यसअघि त्यो पूर्वी भूमध्यसागरमा युएसएस जेराल्ड फोर्ड समूहसँगै तैनाथ थियो । फारसी खाडीमा मिसाइलप्रतिरोधी ‘थाड’ तथा ‘पेट्रियट’ प्रणाली पनि पठाइएको छ ।
इजरायलले महाविनाशका आफ्ना चार उपाय मृत्यु, अनिकाल, युद्ध र कब्जाको प्रयोग गर्दै छ । उसले गाजावासीहरूसामु केवल दुई विकल्प खुला छोडेको छ – गाजा छोडी भाग्ने वा मर्ने ।
प्यालेस्टाइनीहरू गोली, बम र ट्याङ्कले मात्र मरिरहेका छैनन् । उनीहरूको भूमि कब्जा हुँदै छ† भोक र हैजाजस्ता महामारीले पनि उनीहरू आजित छन् । पानी, इन्धन र औषधि नहुँदा तथा सरसफाइ व्यवस्था ध्वस्त हुँदा रोगव्याधी सलहझैँ फैलिनेछ । राष्ट्रसङ्घले गाजाका अस्पतालहरू ‘उठिबासको सङ्घारमा छन्’ भन्दै छन् । अस्पतालका जेनेरेटरहरूमा इन्धन रित्तिएपछि हजारौँ बिरामीहरू यत्तिकै मर्नेछन् ।

गाजास्थित अल–शिफा अस्पतालका एक डाक्टरले भने, “हाम्रो अस्पताल बन्द हुने अवस्थामा छ ।” उनले अक्सिजन, प्रकाशको अभाव र मेडिकल सामग्रीको अभावबारे बताए । अस्पतालका केही विभागमा पानी छैन । इजरायली हवाई हमलामा परेर केही डाक्टरहरूको मृत्यु भएको छ र हैजा फैलिने डर छ । इजरायलले एउटा पुरानो चर्चमाथि बमबारी गर्दा १८ सर्वसाधारणको मृत्यु भयो । त्यसमा धेरै बालबालिका थिए र एकजना दाँतका डाक्टर पनि परेका थिए ।

बाइडेन सरकारले ३७ जति ट्रकमा सहयोग सामग्री राखेर गाजा पठायो । यो एउटा देखावामात्र हो । त्यसबाट इजरायलले रचेको मानवीय सङ्कट पार लाग्नेछैन । राष्ट्रसङ्घले कम्तीमा त्यसप्रकारका १०० ट्रक पठाउनुपर्ने बताएको छ । इन्धनको अभावमा गत आइतबार गाजास्थित समुद्री पानी प्रशोधन गर्ने अन्तिम प्लान्ट बन्द भएको छ । इजरायलले गाजाबाट हट्ने मनसाय देखाएको छैन । बरु उसले हवाई हमला चर्काइरहेको छ । बितेका दुई हप्तामा जस्तै उसले प्यालेस्टाइनीहरूलाई मार्न, सताउन र भोकभोकै गाजा सहरबाट भाग्न बाध्य पारिरहनेछ ।

गाजामा जमिनी हमला छिट्टै सकिनेछैन । यसको लागि हप्तौँ र महिनौँ पनि लाग्न सक्नेछ । सडकमा घमासान लडाइँ हुनसक्छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजामाथिको हमला इराकी सहर मोसलमाथिको अमेरिकी हमलाजस्तै हुनसक्ने पूर्वानुमान गरे । त्यस सहरमा सन् २०१४ मा मुसलमान कट्टरपन्थी समूह इजइजले कब्जा जमाएको थियो । सोही बेला संरा अमेरिकी सेनाले हमला गरेको थियो । मोसल कब्जा गर्न संरा अमेरिकालाई ९ महिना लागेको थियो ।
इजरायलले अहिले ‘लामो युद्ध’ गर्ने भन्दै छ । उसले सत्य बोलिरहेको छ ।

इजरायलले वासिङ्टनसँग १४ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग मागेको छ । यसमा १० अर्ब ६० करोड डलरको त हवाई र मिसाइल प्रणालीमात्र हुनेछ । इजरायलले यति सहयोग सहजै पाउनेछ । गाजामा बमबारी गरेर उसले आफ्नो गठ्ठाघर छिटोभन्दा छिटो रिट्याउँदै छ । उसको बमबारी गाजाको दक्षिणी भेगसम्म पुगिसकेको छ । उत्तर प्यालेस्टाइनका लाखौँ घरपरिवार भागेर त्यहाँ पुगेका थिए ।

संरा अमेरिकाले पश्चिम किनार र गाजामा बस्ने प्यालेस्टाइनीहरूलाई १० करोड अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको थियो । इजरायल त्यो रकमलाई प्यालेस्टाइन पुग्न दिनेछैन । कम्तीमा प्यालेस्टाइनमाथि उसको हमला कायम रहुञ्जेल त्यो रकम प्यालेस्टाइन पुग्ने छैन । तर त्यसबेलासम्म प्यालेस्टाइन ध्वस्त भएर चिन्नै नसक्ने हुनेछ । इजरायलले पूर्ण वा आंशिकरूपमा गाजा सहर कब्जा गरिसकेको हुनेछ । सम्भवतः त्यो अमेरिकी सहयोग कब्जामा परिसकेको पश्चिम किनारमा थप अवैध यहुदी बस्तीहरूको निर्माण गर्नमा खर्च हुनेछ । सहयोग दिने वाचा गर्नु र दिनुबिच आकाश–पातालको भिन्नता हुन्छ । त्यसैले अमेरिकी वाचा भ्रम पनि हुनसक्छ । इजिप्टका अधिकारीहरू परिस्थिति कता मोडिने हो भन्नेमा निकै चिन्तित छन् । २३ लाख प्यालेस्टाइनीहरूमध्ये आधा वा त्योभन्दा बढी जनतालाई इजरायलले गाजाको दक्षिणी सीमामा पर्ने इजिप्टतिर धकेल्नेछ र तिनलाई कहिल्यै फर्किन दिनेछैन ।

“गाजामा अहिले त्यहाँका सर्वसाधारणलाई जबरजस्ती भागेर इजिप्टमा शरण लिन बाध्य पारिँदै छ । यसलाई किमार्थ स्वीकार्नु हुँदैन”, इजिप्टका राष्ट्रपति अब्दुलफतेह अल–सिसीले चेतावनी दिए ।
इजिप्टबाट वासिङ्टनले इजिप्टले तिर्नुपर्ने १६२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको भीमकाय ऋण मिनाहा गर्ने वचन दिएको खबर आइरहेको छ । यसका साथै प्यालेस्टाइनीहरूको जातीय सफायामा सहयोग गरे इजिप्टलाई यथेस्ट आर्थिक सहयोग गर्ने पनि रिपोर्ट छ । इजिप्टको सीमा पार गरेपछि शरणार्थीहरूलाई सिनाइ सहरमा सड्नका लागि बेवारिसे छोडिनेछ ।

“हामीले सन् १९४८ मा विनाशलीला (नक्बा) भोग्यौँ, सन् १९६७ मा नक्सा (पश्चिम किनार र गाजामाथिको अतिक्रमण) भोग्यौँ । त्यो निकै ठूलो अतिक्रमण थियो । अन्तर्राष्ट्रिय समुदायले फेरि त्यही दृश्य दोहोरिनबाट रोक्नैपर्छ”, फ्रान्सेस्का अलकानिजले भने । उनी सन् १९६७ यता प्यालेस्टाइनको अतिक्रमित भूभागमा मानव अधिकारको अवस्थाबारे जानकारी राख्ने राष्ट्रसङ्घका विशेष विज्ञ हुन् ।

इजरायलले धेरै अघिदेखि युद्धको निहुँ बनाएर प्यालेस्टाइनीहरूको जातीय सफाया गर्दै आएको छ । इजरायली अधिकारीहरूले खुलेआम नक्बा गर्नुपर्छ वा विनाशलीला मच्चाउनुपर्छ भनी आह्वान गर्दै छन् । सन् १९४७–४९ मा भएको त्यो नक्बाका कारण साढे ७ लाख प्यालेस्टाइनीहरूले आफ्नो ऐतिहासिक भूमि छोड्नु परेको थियो । उनीहरूलाई शरणार्थी शिविरहरूमा कोचेर इजरायल राज्य जन्माइएको थियो । सन् १९६७ को युद्धको मौका पारेर इजरायलले पश्चिम किनार र गाजापट्टीमा अतिक्रमण गरेको थियो । त्यसलाई नक्सा भनिन्छ । त्यो अतिक्रमणताका ३ लाख प्यालेस्टाइनीहरूले आफ्ना पुर्खाको भूमि छोड्नुपरेको थियो । त्यसैले त्यो घटनालाई नक्बा वा ‘पछि हट्नु’ भनिन्छ । प्यालेस्टाइनीहरू प्रत्येक वर्ष त्यो दिनको स्मरण गर्छन् ।

प्यालेस्टाइनको जातीय विस्थापन खालि युद्धका बेलामा सीमित छैन । अघिपछि पनि इजरायलले कछुवा गतिमा लगातार यहुदी मात्र बसोबास गर्ने बस्तीहरू बनाउँदै आएको छ र बढीभन्दा बढी प्यालेस्टाइनी भूमि हडप्दै आएको छ । प्यालेस्टाइनीहरूलाई इजरायलको जातिभेदी राज्यमा मौलिक अधिकारबाट पनि वञ्चित गरिएको छ । उनीहरूलाई तिनको सम्पत्ति र घरबाट वञ्चित गरिएको छ । हिँडडुल गर्नमै पनि उनीहरूले अनेक पावन्दी झेल्दै छन् । उनीहरूलाई व्यापार–व्यवसाय गर्न र खासगरी आफ्ना उत्पादन बेच्न दिइन्न । तिनीहरू आफू गरिब हुँदै गइरहेको तथा गाजा एवम् पश्चिम किनारका सुरक्षा पर्खाल र तारबारभित्र कैद भएको महसुस गर्दै छन् । साथै तिनीहरूले नियमितजसो इजरायली हवाई हमला, नियोजित हत्या र सशस्त्र यहुदी बासिन्दा एवम् इजरायली सेनाको दैनिक हमलाको सामना गर्दै आएका छन् ।

पहिले पश्चिम किनार र गाजापट्टी छोडेर गएका प्यालेस्टाइनीहरू प्रतिवर्ष ९ हजारको हाराहारीमा पुनः घर फर्किने गर्थे । सन् १९६७ मा पश्चिम किनार र गाजा कब्जा गरेपछि इजरायलले त्यो घरफिर्तीलाई पूर्णतः बन्द गरिदियो । सन् १९९४ मा ओस्लो समझदारीमा हस्ताक्षर भएपछि मात्र त्यो पावन्दी हट्यो । त्यसपछि इजरायलले पूर्वी जेरुसलेममा बस्दै आएका १४ हजार प्यालेस्टाइनीहरूलाई बसाइँ अनुमति दिएको मानवअधिकारवादी संस्था बिसलेमको भनाइ छ ।

२००९ जनवरी १ देखि २०२३ अक्टोबर ७ बिच इजरायलले मच्चाएको विध्वंश यस्तो छ – उसले ९ हजार ८८० संरचनाहरू भत्कायो† तीमध्ये २६ हजार घर सर्वसाधारणका थिए† त्यसले गर्दा १४ हजार मानिसहरू विस्थापित भए र २ लाख ३३ हजार ६८१ मानिसहरू प्रभावित भए । पश्चिम किनारसम्बन्धी यो तथ्याङ्क राष्ट्रसङ्घको मानवअधिकार समन्वय कार्यालयले जारी गरेको थियो । अक्टोबर ७ को हमलापछि पश्चिम किनारमा थप ३८ घर र अन्य संरचना नष्ट गरिएको छ । यसमा परेर थप १३ हजार ६१३ मानिस प्रभावित भएका छन् भने कम्तीमा ७३ जना व्यक्ति विस्थापित भएका छन् ।
सन् २००९ देखि २०२० बिच २.२ प्रतिशतभन्दा कम प्यालेस्टाइनीहरूलाई मात्र घर निर्माण गर्ने अनुमति दिइयो । यो तथ्याङ्क पिस नाओ र इजरायली पत्रिका हारेत्जले छापेका थिए ।

सन् १९६७ जूनको युद्धपछि इजरायलले कब्जा गरेका क्षेत्रहरूको सङ्ख्या शून्यबाट बढेर कम्तीमा अढाइ सय पुगेको छ । ६ लाखदेखि साढे ७ लाख मानिसहरू पश्चिम किनारस्थित ती यहुदी बस्तीमा बसोबास गर्छन् । उनीहरूले पूर्वी जेरुसेलम पनि कब्जा गरिसकेका छन् । यी सबै अतिक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप छ ।

इजरायलले आफ्नो नियत लुकाएको छैन ।
इजरायली रक्षामन्त्री योआभ गालान्टले गाजा प्रवेश गर्न तयार फौजलाई सम्बोधन गर्दै भने, “मैले सबै बाधा हटाइदिएको छु ।” इजरायली संसद् सदस्य एरियल केलनर बेन्जामिन न्यतान्याहुको लिकुद पार्टीका नेता हुन् । उनले ट्वीटरमा लेखे, “सन् ४८ को नक्बालाई फिक्का पार्ने नक्बा गर्नुपर्छ ।”
इजरायली सेनाले ९५ वर्षीय पूर्वसैनिकलाई आफ्नो सेनालाई ‘उत्प्रेरित’ गर्नका लागि प्रयोग गर्दै छ । उनको नाम इज्रा याचिन हो । याचिन यहुदी मिलिसिया लेहीका सदस्य थिए । उनले प्यालेस्टाइनी सर्वसाधारणका अनेक हत्याकाण्डमा भाग लिएका थिए । १९४८ अप्रिल ९ मा भएको दायर यासिन पर्वमा पनि उनी सहभागी थिए । त्यस हत्याकाण्डमा परेर १०० जना प्यालेस्टाइनी सर्वसाधारण सोत्तर भएका थिए । मारिनेमध्ये धेरैजसो महिला र बालबालिका थिए ।

“विजयी भएर तिनलाई नष्ट गर्नू । एकजनालाई पनि जिउँदो नछोड्नू । तिनीहरूको स्मृति नै मेटाउनू ।”, याचिनले इजरायली फौजलाई सम्बोधन गर्दै भने । उनले भन्दै गए, “जहान परिवार, आमाबा र छोराछोरीसहित तिनीहरू सबैलाई नष्ट गर ।” यी पशुहरूलाई बाँच्ने हक छैन । घरमा हतियार भएका प्रत्येक यहुदीले बाहिर गएर तिनलाई मार्नुपर्छ । तिम्रो छिमेकी अरब जातिको छ भने पर्खेर नबस, उसको घरमा घुसेर गोली ठोक ।”

हाम्रा मानवतावादी हस्तक्षेपकारीहरू कता छन् ? युक्रेनी, इराकी, सिरियाली, लिबियाली र अफगानीहरूको मानवअधिकारको विषयमा गोहीका आँसु चुहाउनेहरू कुन दुलोमा छन् ? के उनीहरूले अमेरिकी हतियारबद्ध जलबेडा र युद्धको पक्ष लिएको हो ? डेमोक्रेटिक पार्टीको पुरानो युद्धविरोधी खेमा र उदारवादीवर्ग कहाँ छ ? अमेरिकी युद्धका कारण सर्वसाधारणहरूको हत्यामा रोइलो गर्ने बुद्धिजीवीहरूलाई के भएको छ ? किन बोलिरहेका छैनन् ? अन्तर्राष्ट्रिय कानुनको पालना हुनुपर्नेमा दृढ अडान लिने कानुनकर्मीहरू कता छन् ? इजरायलले प्यालेस्टाइनीहरूको जातीय संहार गरिरहँदा त्यसको विरोध गर्ने थोरै मानिसहरूको मुख किन थुनिँदै छ ? उनीहरूको स्वरमा किन कैँची चलाइँदै छ ?
“हाम्रा पूर्वराष्ट्रपति हामीमाथि प्रतिबन्ध लगाउन चाहन्थे र सम्भवतः हामीलाई यातनागृहमा हुल्न चाहन्थे”, मिसागानकी संसद् सदस्य रशिदा दलैबले भनिन् । उनी प्यालेस्टाइनी मूलकी हुन् । अमेरिकी संसद्अगाडि अक्टोबर २० मा युद्धविरामको पक्षमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो विचार राखेकी थिइन् । उनले भनिन्, “तर अहिलेका राष्ट्रपति त हामीलाई मरेको देख्न चाहन्छन् । यस्तै महसुस भइरहेछ । धिक्कार छ !”

प्यालेस्टाइनीहरूविरुद्ध गाजामा जातीय संहार मच्चाएपछि पनि इजरायल रोकिनेछैन । उसलाई रोक्न संरा अमेरिकाले उसलाई सैन्य नाकाबन्दी लगाउनुपर्छ । अमेरिकी हतियार उद्योगले त्यो मानव संहारलाई टेवा दिइरहेको छ । हामीले बहिष्कार, लगानी रोक्का र प्रतिबन्ध (बिडिएस) आन्दोलनलाई अगाडि बढाउनुपर्छ । संरा अमेरिका र इजरायलबिच भएका सम्पूर्ण खुला व्यापार तथा अन्य सम्झौताहरू रद्द गर्नमा जोड दिनुपर्छ । तबमात्र इजरायली नेतृत्वले घुँडा टेक्नेछ । (जस्तो कुनै बेला दक्षिण अफ्रिकाको रङ्गभेदी सत्ताले घुँडा टेक्नुपरेको थियो ।) अनिमात्र इजरायली नेतृत्वलाई सम्पूर्ण प्यालेस्टाइनीहरूलाई समान अधिकारसहितका राज्य मान्न कर लाग्नेछ । इजरायलीहरूले माथिका तीन सहयोग पाउँदासम्म प्यालेस्टाइनीहरू वर्तमान पीडा भोग्न अभिशप्त छन् ।
(क्रिस हेजेज प्रसिद्ध पत्रकार हुन् । उनले ‘द न्युयोर्क टाइम्स’ मा १५ वर्ष विदेशी संवाददाताको रूपमा काम गरेका थिए । हाल उनी आरटी अमेरिकाअन्तर्गत ‘अन कन्ट्याक्ट’’ कार्यक्रम सञ्चालन गर्छन् ।)

स्रोत : एमआर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *