न्यूज अपडेट संवाददाता
कठमाडाैं, १६ साउन

नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भएकाे छ ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेक्राकिसङ्घको इतिहास गर्विलो रहेको बताए।
अग्रज किसान कार्यकर्ताहरूले नयाँ पुस्ताका युवा, विद्यार्थी र महिलालाई किसान सङ्घको इतिहासबारे जानकारी गराउनुपर्नेमा उनले जोड दिए ।
पञ्चायती राज्यसत्ताले नेमकिपा र पार्टीका कार्यकर्ताहरूलाई समूल नष्ट गर्ने दुष्प्रयास गरेको जानकारी गराउँदै केन्द्रीय सदस्य गोसाईले पञ्चायती राज्यस्तरको षड्यन्त्रको कारण पञ्चायत आफैँ पतन भएको बताए ।
उनले भने, “पञ्चायती शासकहरू भ्रष्ट, बेइमान, नैतिकताहीन र निरङ्कुश भएकाले नेमकिपाका कार्यकर्ताहरूसँग तिनीहरू टिक्न सकेनन् ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले जुझारू र सक्रिय कार्यकर्ता सङ्गठित भएर लागेमा समाजवादी व्यवस्था चाँडै स्थापना हुने धारणा राखे ।
नेमकिपाले स्थापनाकालदेखि नै राष्ट्रिय सवालहरूमा देशभक्तिपूर्ण आन्दोलन गर्दै आएको चर्चा गर्दै उनले नेमकिपाले एमसीसी र एसपीपी देशघाती भएकोले नेमकिपाले विरोध गरिरहेको बताए ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले स्वदेशमै मल कारखाना स्थापना गर्नको लागि आवाज राखेको चर्चा गर्दै सत्तापक्ष र प्रतिपक्षका सांसद एवं मन्त्रीहरू भागबन्डामा लिप्त रहेको बताए ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव हरिराम सुवाल र केन्द्रीय सदस्यद्वय हरिशरण श्रेष्ठ तथा कवीन्द्र डंगोलले पनि बोलेको थियो ।