दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी विनिता

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
पोखरा, १२ बैशाख

भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।
पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो दृखेलाडी बनेकी छन् । नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुइपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्घाटन नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको भारतले नेपाललाई १७३ रनको लक्ष्य दियो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीकी गंगौभाले अर्धशतक पूरा गरेकी थिइन् । उनले आफ्नो टिमका लागि सर्वाधिक ७१ रन बनाएकी थिइन् । १७३ रनको लक्ष्य नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।
नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाए । प्लेयर अफ द म्याच भएकी बिनिता पुनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् । मंगलबार देखि सुरु भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा र बाँकी ३ खेल काठमाडौंको मूलपानीमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *