पासा पुचः संस्कृति बचाउन र सभ्य नागरिक बनाउन सक्रिय

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १९ चैत

‘संस्कृति बचाऔं, सभ्य नागरिक तयार गरौं’ भन्ने नाराका साथ शनिवार ब्रह्मायणीमा पासा पुचःको साधारणसभा भएको छ ।
उक्त सभामा भनपा वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले यो संस्था राजनीतिक उद्देश्य प्राप्तिको निम्ति स्थापना भएको सामाजिक संस्था भएको बताए ।

भजनको गीतबाट जनताको पीडा पोख्न र जनतालाई सचेत पार्न सकिने उल्लेख गर्दै उनले चैत २४ र २५ गते चितवनमा हुने नेपाल क्रान्तिकारी महिला संघको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सहभागिताको लागि अनुरोध गरे ।
नसा, मिर्गौला, मुटु, मस्तिष्कजस्ता रोग लागेका बिरामीहरुले आर्थिक सहयोग पाउन पीडितहरुले नाम दर्ता गरेर प्रक्रिया अघि बढाउन उनले आग्रह गरे ।

पासा पुचःका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार कृष्णगोपाल कुसीले पासा पुचः स्थापनाका आधार र उद्देश्यबारे स्पष्ट पार्दै पासा पुचः पुनर्गठनको घोषणा गरे । पासा पुचःले लामो समयदेखि विभिनन गीत, नृत्य, ख्याल, नाटक आदिको माध्यमबाट जनताको सांस्कृतिक स्तर उठाउन रचनात्मक गतिविधि गर्दै आइरहेको उनले बताए ।

पासा पुचःका अर्का सल्लाहकार विष्णुगोपाल कुसीले पासा पुचः गायक, वाद्यवादक, कलाकार तथा नर्तकीहरु तयार गर्ने जनतासामु परिचित सामाजिक संस्था भएको बताए । नेमकिपाले सफाइ अभियान, साक्षर अभियान, भ्रष्टाचारविरोधी अभियान, कला–संस्कृति र सम्पदा संरक्षण अभियान, सांस्कृतिक अभियान, विकास अभियानसँगै बुद्धिजीवीकरण गर्ने अभियान थालेर जनतालाई बिउँझाउने, सचेत पार्ने र शिक्षित पार्ने काम गरिरहेको उनले बताए ।

भनपा वडा नं. ९ का वडा सदस्य छोरीमैया सुजखुले समाजलाई सभ्य बनाउन संस्कृति जोगाउन पासा पुचःले महत्वपूर्ण कार्य गरिरहेको चर्चा गर्दैै पुँजीवादी व्यवस्थालृे श्रमजीवी वर्गको सेवा नगर्ने बताए ।

पासा पुचःका अध्यक्ष विष्णुभक्त कुसीले संस्था जोगाउन अनेक संकटको सामना गर्दै अघि बढिरहेको बताए । सभामा पुचःका हरिराम कुसी र प्रेम प्रजापतिले पुचःको गतिविधि र साधारणसभाको आवश्यकताबारे चर्चा गरे । उक्त सभाबाट विष्णुभक्त कुसीको अध्यक्षतामा ११ सदस्यीय पासा पुचः को नयाँ कार्यसमिति गठन गरिएको छ । सभामा अतिथि तथा निर्वाचित पदाधिकारी तथा सदस्य र अन्य उपसमितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

तस्विरः प्रेम प्रजापति

Leave a Reply

Your email address will not be published. Required fields are marked *