भक्तपुरमा नेमिकपाकाे गढ हल्लाउन सकेन ठूला दलले, नेमकिपा मतदाताको भावनालाई आत्मसात गरी अघि बढ्ने

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ११ मंसिर

नेमकिपा मतदाताको भावनालाई आत्मसात गरी अघि बढ्ने
नेपाल मजदुर किसान पार्टीले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मादल चिह्नमा छाप लगाएका मतदाताहरूलाई शनिबार एक र्‍यालीको आयोजना गरी धन्यवाद ज्ञापन गरेको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय गोल्मढीबाट सुरू भएको र्‍याली सुकुलढोका, टिबुक्छेँ, टौमढी, तालाक्व, नासमना, वंशगोपाल, भार्वाचो, दूधपाटी, इटाछेँ, खौमा, लाय्कु, चोछेँ, तुछिमला, भुलाछेँ, मूलढोका, कमलविनायक, च्याह्मासिंह, सूर्यमढी, तचपाल हुँदै पुनः पार्टी कार्यालय गोल्मढी पुगी टुङ्गिएको थियो ।

पार्टी कार्यालय प्राङ्गणमा निर्वाचित उम्मेदवारहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने पार्टीका उद्देश्यलाई निरन्तरता दिइरहने विश्वास दिलाउनुभयो ।
निर्वाचित उम्मेदवारहरूमा थपेको जिम्मेवारी पूरा गर्ने विश्वास अध्यक्ष बिजुक्छेँले व्यक्त गर्नुभयो ।
नेमकिपाले कहिले पनि सङ्कीर्णता र भेदभावतर्फ नलागेको विचार व्यक्त गर्दै उहाँले नेमकिपालाई मतदान गर्ने सबैको भावनालाई आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
र्‍यालीमा सहभागीहरूले “रासायनिक मलको व्यवस्था गर ! एमसीसी सम्झौता खारेज गर ! नागरिकता विधेयक खारेज गर ! बढ्दो महँगी नियन्त्रण गर ! गोर्खा भर्ती केन्द्र खारेज गर ! सन् १९५० को सन्धि खारेज गर ! नेपाली लेन्डुपहरू मुर्दावाद ! अमेरिकी साम्राज्यवाद मुर्दावाद ! भ्रष्टाचारीहरुलाई कारबाही गर ! भारतीय विस्तारवाद मुर्दावाद ! नेपाल मजदुर किसान पार्टी जिन्दावाद ! लगायतका नाराहरू लगाएका थिए । र्‍यालीमा धाँ, धिमाय्, मादल, बाँसुरी बाजाका सांस्कृतिक टोलीहरूको रोचक उपस्थिति थियो ।
र्‍यालीको बिच बिचमा नवनिर्वाचित सङ्घीय सांसद प्रेम सुवाल, नवनिर्वाचित बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईसहित भक्तपुर क्षेत्र नं. २ का नेमकिपा उम्मेदवार अनुराधा थापामगर, २(ख) का उम्मेदवार सरोजराज गोसाई, १(क) का उम्मेदवार मिनबहादुर बाटा र २(क) उम्मेदवार रमेश वैद्यले सङ्क्षिप्त सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा प्रेम सुवालले मुख्य मुख्य ठाउँमा मतदातालाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “मतदाताहरूले जुन विश्वासका साथ नेमकिपालाई अत्यधिक मतले जिताउनुभएको छ त्यसलाई एउटा ऊर्जाको रूपमा ग्रहण गरेर संसद्मा प्रखर प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाउनेछु र जनताको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहनेछु ।”
संसद्मा जाने अवसर दिएकोमा सचेत सम्पूर्ण मतदाताहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै सांसद सुवालले भन्नुभयो, “जनताका छोराछोरीलाई १०–१५ लाख रूपियाँमा डाक्टर पढाउन ख्वप विश्वविद्यालयको विधेयकलाई पारित गर्न गराउन फेरि पनि संसद्मा आवाज उठाउने छु । यो विधेयक भक्तपुरका जनताको लागि मात्र नभई सम्पूर्ण देशको लागि हुनेछ । जसरी अहिले ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्थानहरूले देशभरका विद्यार्थीहरूलाई सस्तोमा स्तरीय शिक्षा प्रदान गरिरहेका छन् । तर, विगतमा राणा प्रवृत्तिका शासक दलहरूले ख्वप विश्वविद्यालय विधेयक रोके† हामी त्यसको विरोधमा छौँ† यो विधेयक पारित नभएसम्म हाम्रो सङ्घर्ष निरन्तर जारी रहनेछ ।”
“अमेरिकी सैन्य मोर्चा र अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता र नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक खारेजीको लागि सङ्घर्ष चालु राख्नेछ”, उहाँले भन्नुभयो ।
किसानहरूलाई रासायनिक मल उपलब्ध नगराउने, दाल, चामल र तरकारीसमेत भारतबाट आयात गरी व्यापार घाटा बढाउने सरकारहरुको विरोध गर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले सरकारमा गएका पार्टीहरूले भारतलाई नेपालीको रगतमात्र होइन मासु नै काटेर खान लगाएकोमा विरोध गर्दै २० खर्ब रुपियाँ व्यापार घाटा र २० खर्ब रुपियाँ सार्वजनिक ऋण बोकाउने र सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने सरकारहरूको सडक र सदनमा विरोध चालु राख्ने बताउनुभयो ।
अर्का नवनिर्वाचित बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले किसान आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनमा अडेको नेमकिपा देश र जनताको हितमा विगतमा भन्दा सशक्त ढङ्गले संसद्मा भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
र्‍यालीको ठाउँठाउँमा नेवारी परम्पराअनुसार दही सगुनका साथ स्थानीय ज्येष्ठ नागरिकहरूबाट बधाई ज्ञापन गरिएको थियो । भक्तपुर नगरका ठाउँठाउँमा ध्वजापताकासहितका स्वागत द्वारहरू बनाई सजाइएको थियो । हरेक स्वागतद्वारमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ, सङ्घीय सांसद प्रेम सुवाल र प्रदेश सभासद् सुरेन्द्रराज गोसाईंको तस्बिरसहित विजयी उम्मेदवारहरूलाई बधाई र मतदाताहरूलाई धन्यवाद ज्ञापनको ब्यानर टाँगिएको थियो । ब्यानरमा भएका तस्बिर हेर्दै नासमनाका एक मध्यमवर्गीय मतदाता सुरेन्द्रमान भुजुले भन्नुभयो, “८०–८५ वर्षका बिजुक्छेँ, ६०–६५ वर्षका सुवाल र ४०–४५ वर्षका गोसाईको यो सिलसिलाले नेमकिपाको सुन्दर भविष्यको सङ्केत गर्दछ । ब्यानरमा तस्बिरको संयोजन जसरी सुन्दर छ, संसद्मा पनि उहाँहरूको भूमिका उत्तिकै सशक्त छ र त प्रतिद्वन्द्वीहरूलाई धेरै गुणा पछाडि पारी विजयी हुनुभयो, बधाई छ उहाँहरूलाई !”
र्‍यालीमा भनपा १ भार्वाचोकी ७५ वर्षीय कान्छी किलम्बु लौरो टेक्दै पासा पुचः सूर्यमढीको मादल विजयी गीतमा नाच्दै आएको दृश्यले धेरैको ध्यानाकर्षित गर्‍यो । चोछेँमा पुगेपछि तपाईँलाई गार्‍हो भयो होला आराम गर्नुस् भनी एक स्वयंसेवकले सुझाव दिँदा उहाँले भन्नुभयो, “छैन गार्‍हो† यस्तो अवसर आउन अब फेरि पाँच वर्ष कुर्नुपर्छ । जनताको यो खुसियालीमा सहभागी हुन पाउनु मेरो अहोभाग्यको कुरा हो । यसभन्दा अघिल्लो विजय र्‍यालीमा पनि बेलुका ९ः३० बजेमात्र घर फर्केको थिएँ ।”

प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निकततम प्रतिद्वन्दी एमालेकाे भन्दा ३० हजार मतान्तरले विजयी भए भने प्रदेश सभाका उम्मेदवार सुरेन्द्रराज गाेसाइले २९ हजार सात रय चार मत ल्याइ विजयी भएका छन् ।

नेमकिपाकाे गढ हल्लाउन धेरै वर्षअघिदेखि गठबन्धन बनााइ प्रयास गर्दा पनि ठूला दलहरू यसपटककाे निर्वाचनमा पनि पराजय भाेगेका छन् । क्षेत्र नं. २ भने एमालेकाउम्मेदवार महेश बस्नेतलाइ गठबन्धनका दुर्लभ थापा विजयी भएका छन्।

स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *