सूर्यमढीमा नेमकिपाको जनसभा सम्पन्न, भार्वाचोमा कात्तिक १९ गते

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ कात्तिक

नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा स्थानीय सूर्यमढीमा चुनावी जनसभाको आयोजना भएको छ ।

पार्टी केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले संसद ऐन कानुन, नीति निर्माण गर्ने स्थान भएको हुँदा त्यहाँ गोरेटो, घोडेटो, पुल पुलेसा जस्ता विकास निर्माण जस्ता कुरामा जोड दिने ठाउँ नभएको प्रष्ट पारे । गतिलो एउटा ऐन र नीति निर्माण भए त्यसले कुनै क्षेत्र विशेषको मात्र नभई सिङ्गो देशलाई नै सकारात्मक पर्ने हुँदा नेमकिपाले त्यसैलाई विशेष जोड दिँदै आएको उल्लेख गर्दै उनले संसदबाट शिक्षा निःशुल्क गर्ने नीति पास गरेको भए जनताले शिक्षाको लागि पैसा तिर्न नपर्ने हुन्थ्यो तर शासक दलहरु जनतालाई शिक्षा दिने पक्षमा नरहेको प्रष्ट हुन्छ भने ।
उनले भने, ‘सरकारले शिक्षालाई महत्व दिएको भए विद्यार्थी ड्रपआउटको संख्या धेरै हुने थिएन तर अहिले कक्षा १ मा १३ लाख विद्यार्थीबाट कक्षा १० मा पुग्दा ५ लाख पनि नपुग्नुको अर्थ जनताका छोराछोरीले पढोस् नपढोस् मतलब नराखेको प्रष्ट हुन्छ ।’

देश भ्रष्टाचारको दलदलमा पर्ने शासक दलहरु नै भएको उल्लेख गर्दै उनले देशको युवा जनशक्ति बैदेशिक रोजगारीको नाममा विदेश पठाउँदा देशको उर्वर भूमि उजाद भएको र खाद्यान्न लगायत सागसब्जी समेत विदेशबाट आयात गर्नुपर्ने हुँदाको मुख्य दोष शासक दलहरु नै भएको बताए ।

जनसभामा भक्तपुर क्षेत्र नं. १ प्रदेशसभा ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले देशको शिक्षा स्वास्थ्य लथालिङ्ग भताभुङ्ग पार्ने काम शासक दलहरुबाट भएको बताउँदै उनले देशमै शिक्षा–स्वास्थ्य राम्रो बनाएको भए पढ्नको लागि नेपाली विद्यार्थीहरु विदेशिने थिएनन् भने स्वास्थ्य क्षेत्रमा कारोना कालमा न्यूनतम आवश्यकता पनि सरकारले पूरा गर्न नसक्दा १२ हजार नेपालीको अकालमा मृत्युवरण गर्नु परेको औंल्याए ।

जनसभामा पार्टी नगर निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मीभक्त लासिवाले देशभक्त इमान्दार एमाले, कांग्रेस, माओवादी, राप्रपाका कार्यकर्ताहरुले पनि मादलमा मत दिने विश्वास व्यक्त गरे भने वडा पार्टी इन्चार्ज कृष्ण भक्त लवजूले मत आन्दोलनबाट प्राप्त महत्वपूर्ण अधिकार भएकाले भोजभतेर र पैसामा मत बेच्नु नहुने बताए ।

वडा निर्वाचन परिचालन समितिका संयोजक ज्ञानसागर प्रजापति, सदस्य रामेश्वरी कोजू र लक्ष्मी प्रसाद कुसी लगायतले बोलेको उक्त सभा पार्टी सूर्यमढी एकाइ समितिका इन्चार्ज दिलभक्त कोजूकाे सभापतित्वमा भएको थियो ।
कार्यक्रममा नित्यनाथ भजन पासा पुचः र निर्वाचन परिचालन समिति, वडा नं. ९ बाट चुनावी गीत प्रस्तुत गरेका थिए । कार्तिक १९ गते उक्त पार्टीले भार्वाचोमा दिनको ३ः०० बजे जनसभा गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *