चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु भक्तपुर भ्रमणमा

कला/साहित्य पर्यटन समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३१ भदौ


नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेको छ । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरे ।

अध्यक्ष चान्शु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुर्ब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गरे । प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैरव नाच प्रदर्शन गरिएको थियो ।
अध्यक्ष चान्शुुले भक्तपुरको सम्पदाहरु अवलोकनबाट आफू प्रभावित भएको बताउँदै भक्तपुरमा स्वागत गरेकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिए । उनले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरु जीवन्त रहेको बताए । उनले भक्तपुरको प्रख्यात भैरव नाचलाई अत्यन्त चासो लिएर अवलोकन गरेको थियो ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले लि झान्सुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरु प्राप्त हुने आशा व्यक्त गरे । अध्यक्ष चान्शुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले भक्तपुरमा स्वागत गरेको थियो ।

भ्रमणपश्चात टौमढीको डबलीमा अध्यक्ष ली चान्शुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेको थियो भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चान्शुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *