“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”

Featured पर्यटन फाेटाे ग्यालरी राजनीति विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

दैलेख, ८ बैशाख

“नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन्”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले राजतन्त्र पुनः स्थापना गरेर नेपाली जनताका समस्या समाधान नहुने बताएको छ ।

नेमकिपा दैलेख आठबिस नगर सम्मेलनको बन्दसत्र बैठकमा शुक्रबार अनलाइन प्रशिक्षण दिँदै अध्यक्ष बिजुक्छेँले भने, “पूर्वराजालाई अगाडि सारेर राजतन्त्रवादीहरू चल्मलाउन थालेका छन् । नेपाली जनता राजा पुनःस्थापना गर्ने पक्षमा छैनन् । नेपाली जनताको आक्रोश सरकारले बहुदल र गणतन्त्रको ३५ वर्षयता शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारी नहुनु हो । फ्रान्समा राजा फर्किए तर काटिएको इतिहास छ ।”
उनले भने, “शिक्षकहरूले विद्यार्थीलाई उत्तीर्ण हुने गरी पढाउनु जरूरी छ । विद्यार्थीहरूको भविष्य बिगार्ने शिक्षकहरूलाई जवाफदेही बनाउनु जरूरी छ । अहिलेको शिक्षक आन्दोलनलाई आँखा चिम्लेर समर्थन र विरोध गर्नुहुँदैन । शिक्षकहरूको माग देश र जनताको हितमा हुनु जरूरी छ ।”
“शासक दलहरूले किसान मजदुरका छोराछोरीलाई बिगार्न जाँड, रक्सी, जुवातासको लत लगाइदिन सक्छन् । सर्वसाधारण जनता त्यस्तो लतमा लाग्नुहुन्न । परिवारको एकजनाले चुरोट खाँदा चुरोट खानेलाई मात्र नभई सँगै बस्ने परिवारलाई पनि रोग लाग्न सक्छ । त्यसकारण जनतालाई चुरोट बिँडी खान हुन्न भन्ने सिकाउनुपर्छ । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले गाउँगाउँमा गएर जनतालाई सचेत पार्नुपर्छ ।” अध्यक्ष बिजुक्छेँले भने ।
उनले भने, “कालाबजारीहरूले विदेशी नक्कली बीउ नेपाल भित्याइरहेका छन् । विदेशी नक्कली बीउले हाम्रो कृषि उत्पादन घटेको छ । त्यस्ता बीउ प्रयोग गर्नुभन्दा स्वदेशी रैथाने बीउ जोगाउनुपर्छ । किसान साथीहरूले कृषि विज्ञहरूसँग सल्लाह गर्नुपर्छ । नेपाली जनता विदेशबाट आयात हुने विषादीयुक्त तरकारीमा भर पर्नु हुन्न । आफै आत्मनिर्भर बन्न कृषि उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले भने, “दलालहरूले गाउँ नै रित्तो पारेर नेपाली युवालाई विदेश पठाउने षड्यन्त्र गर्दै छन् । विदेश पठाउने दलालहरूलाई जनताले विश्वास गर्नुहुन्न । नेपाली युवालाई विदेश पठाएर अलपत्र पार्ने दलालहरूलाई जनताले घेर्नुपर्छ । राणाकालमा राणाहरूले पैसा खाएर गोर्खा भर्तीको नाममा युवाहरू विदेश पठाएका थिए । अहिले सरकारमा बस्नेहरूले पनि पैसा खाएर नेपाली युवालाई विदेश पठाएका छन् । सरकारमा जाने शासकहरू पनि गल्लावालाहरूको दलाल बन्दै छन्, जनता सचेत हुनुपर्छ ।”
नेमकिपा आठबिस नगर समितिको तेस्रो नगर सम्मेलनको उद्घाटन समारोह शुक्रबार सम्पन्न भएको थियो ।
उक्त सम्मेलनमा नेमकिपा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले भने, “जब देशमा समस्या पर्छ, आन्दोलनको आवश्यकता पर्छ त्यसबेला नेमकिपा ठुलो हुने गर्छ । इमानदारीपूर्वक नेमकिपाले गाउँ–गाउँमा आन्दोलन लैजाने गर्छ । चुनाव जित्नका लागि नेमकिपाले पैसा खर्च गरेन ।”
उनले भने, “नाफाका निम्ति परिवार र देश बेच्न पनि तयार हुने पुँजीवादी व्यवस्थाले जनताको हित गर्न सक्दैन । आधुनिकताको नाममा पुँजीवादी संस्कार र संस्कृतिको विकासले समाज र देशलाई परनिर्भरतर्फ लैजाँदै छ । पुँजीवादी संस्कार र संस्कृतिविरूद्ध सङ्घर्ष गर्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्र विकासका लागि समाजवादी गणतन्त्रको स्थापना गर्नु जरूरी छ ।”
केन्द्रीय सदस्य गोसाईले भने, “जबसम्म सम्पत्तिमा सीमा निर्धारण, उत्पादनका साधन राष्ट्रियकरण र क्रान्तिकारी भूमिसुधार लागु नगरेसम्म किसानको समस्या समाधान हुँदैन । वास्तविक रूपमै राजनीतिक परिवर्तन गर्नु छ भने गाउँ–गाउँबाट आन्दोलन अगाडि बढाउनु पर्छ ।”
उनले भने, “सबैभन्दा बढी अनुत्तीर्ण हुने विषयहरू गणित, विज्ञान र अङ्ग्रेजीमा शिक्षक अभाव छ । एक शिक्षकले ५० जना विद्यार्थीलाई पढाउनु परेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० विद्यार्थी बराबर एक शिक्षकको आवश्यकता पर्छ । लामो समयदेखि शिक्षक नियुक्ति नगरेर हालसम्म सरकारमा गएका दलहरूले निजी विद्यालयलाई पोस्ने काम भइरहेको छ ।”
नेमकिपा केन्द्रीय सदस्य जग्यबहादुर शाहीले राजावादी र पुँजीवादी गणतन्त्रवादीहरूले सीमा अतिक्रमण, असमान सन्धि, निजीकरण र भ्रष्टाचारको विरोध नगरेको बताए ।
नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले भने, “अमेरिकी साम्राज्यवादले इजरायललाई अगाडि सारेर प्यालिस्टिनी जनताको नरसंहार गरेको छ । युक्रेन र प्यालिस्टिनको प्राकृतिक स्रोत–साधनमा उसले आँखा गाडेको छ । अमेरिकाले इन्डोनेसिया, भियतनाम, सिरियालगायत देशमा आक्रमण गर्ने, आन्तरिक मामलामा हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्नुपर्छ ।”
नेमकिपा कर्णाली प्रदेश सदस्य नीरकबहादुर शाहीले राजाकै पालामा सुगौली सन्धि, १९५० को असमान सन्धि, गोर्खा भर्ती खोलिएको कारण जनताले धेरै दुःख पाएको बताए ।
नेमकिपा दैलेखका अध्यक्ष जगतबहादुर ओलीले सत्तामा जाने शासक दलका कारण राजावादीले टाउको उठाएको बताए ।
नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले कृषिप्रधान देशमा ३३ करोडको लसुन, ३५ करोडको आलु, ४८ करोडको खुर्सानीलगायत आयात गर्नु निन्दनीय भएकाे बताए ।
कार्यक्रममा नेक्राशिसङ्घका लोमनकुमार बडुवाल, नेक्राविसङ्घका सुजी ह्यौगोजु, नेमकिपा आठबिस–८ का अध्यक्ष नर सिजापति, रामबहादुर बडुवाल, नविन सिजापति, जयबहादुर बडुवाललगायतले बोलेको थियो ।
उद्घाटन समारोहपश्चात् देउडा गायकहरू जयबहादुर थापा, गोपीराम विक र गायिका पानसरा थापालगायतले प्रगतिशील देउडा गीत प्रस्तुत गरेको थियो । दुर्गा विकले गजल प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *