न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ चैत
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत २३ गतेदेखि २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिवार एक समारोहबीच उद्घाटन भएको छ । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’ को बिमोचन गरे ।

भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले प्रतियोगिता पूर्ण सफलताको कामना गर्दै जिम्नाष्टिक खेल शारीरिक अभ्यास र निकै जोखिमपूर्ण खेल भएकोले सुरक्षितका साथ खेल्न आग्रह गरे ।

नाचगान र शारीरिक अभ्यासले शरीरका अंग प्रत्यंगहरुलाई चलायमान बनाइ स्फूर्ति पनि प्रदान गर्ने बताउँदै उनले खेलकुद व्यक्तिगत रुपमा शरीरिक तन्दुरुस्ती, मानसिक स्वस्थका साथै राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम भएको प्रष्ट पारे ।

खेलाडीहरुलाई आफ्नो कला र कौशल अनुशासित ढंगले प्रदर्शन गर्न जोड दिँदै उनले सरकारले खेलाडीहरुलाई हौसला र प्रोत्साहन दिनु जरुरी रहेको बताए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउँदै भक्तपुर नपाले विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेलकुद प्रशिक्षणहरू सञ्चालन गर्नु त्यसको सिलसिला भएको बताए ।

प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै उनले सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै बताए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जिम्नाष्टिक खेल जगतको महत्वपूर्ण खेलको रुपमा रहँदै आएको बताउँदै विद्यार्थीहरुको बौद्धिक विकाससँगसँगै शारीरिक र मानसिक विकासको लागि खेलकुद महत्वपूर्ण पक्ष रहेको बताए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले विभिन्न नगरपालिकाबीच अन्तरसम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै १८ वटा महानपा, उपमहानपा र नपाबीच हुने प्रतियोगिताले राष्ट्रिय प्रतियागिताको स्वरुप लिएको बताए ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको बताए ।
भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र मित्रतामा जोड दिन आग्रह गरे ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले शुभकामना मन्तव्य, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राखेको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोलेको थियो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्यालीसहित नगर परिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
र्यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर नगर जिम्नास्टिक प्रतियोगिताअन्तर्गत पहिलो खेल शनिवार दिउँसो २ बजेदेखि भएको आयोजकले जानकारी दिएको छ ।
