प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

इस्लामाबाद, १३ मसिर (एएफपी)

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानुनअन्तर्गत पक्राउ गरिएको छ ।

यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए । सरकारले कम्तीमा पाँच सुरक्षाकर्मी मारिएको बताएको छ भने खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीले सुरक्षाकर्मीद्वारा कम्तीमा १० जनाको गोली हानी हत्या गरेको आरोप लगाएको छ । सरकारका मन्त्रीहरूले ती आरोपहरू अस्वीकार गरेका छन् ।

लोकप्रिय युट्युब च्यानलका साथ टीभी च्यानल नियो न्युजका प्रस्तुतकर्ता मतिउल्लाह जान र अर्का एक पत्रकारले इस्लामाबादको पीआईएमएस (पिम्स) अस्पतालमा मृत्यु सङ्ख्याको पुष्टि गर्न खोज्दा उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।

उनीहरूका वकिल इमान मजारीले भन्नुभयो, “उनीहरूले मृत्युको कूल सङ्ख्या पत्ता लगाउने प्रयास गरिरहेका थिए । उनीहरूले आफ्नो पत्रकारिताको कर्तव्य पूरा गर्दै थिए ।” उहाँका अनुसार अर्का पत्रकारलाई छोडिएको छ तर जान अझै हिरासतमा हुनुहुन्छ ।

इस्लामाबाद प्रहरीले जानमाथि लागुऔषध सेवन र एक अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । “ड्युटीमा रहेका एक प्रहरी कर्मचारी हत्याको प्रयास गरेको आरोपमा आतङ्कवादविरोधी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

मजारीले जानलाई बिहीबार दिउँसो इस्लामाबादको आतङ्ककारीविरोधी अदालतमा पेस गरिएको र दुई दिनका लागि हिरासतमा राखिएको बताउनुभयो । “यसको कारण तपाईं सबैलाई थाहा छ, म शवहरूको काममा संलग्न थिएँ”, जानले अदालतमा प्रवेश गर्दा पत्रकारहरूलाई भन्नुभयो ।

असहमति खारेज गर्न व्यापक आतङ्कवादविरोधी कानुन प्रयोग गरेकोमा अधिकार पर्यवेक्षकहरूले पछिल्ला पाकिस्तान सरकारहरूको आलोचना गरेका छन् । पाकिस्तान मानव अधिकार आयोगले जानको ‘तत्काल र बिनासर्त रिहाइ’ को माग गरेको छ । “पत्रकारहरूलाई चुप लगाउने यो अधिनायकवादी रणनीति बन्द हुनुपर्छ”, सङ्गठनले सामाजिक सञ्जाल साइट एक्समा एक विज्ञप्तिमा भनेको छ ।

जानको पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानलाई आलोचना गर्ने इतिहास छ । यसलाई विश्लेषकहरूले मुलुकका नागरिक नेताहरूको उदय र पतन प्रभावित पार्ने बताउँछन् । सन् २०२० मा खानको चार वर्षको कार्यकालको बिचमा उहाँलाई सैनिक पोशाकधारीहरूले केही समयका लागि हिरासतमा पनि राखेका थिए । पत्रकार संरक्षण समितिको एसिया कार्यालयले ‘अधिकारीहरूले ज्यानको सुरक्षा र तत्काल रिहाइ सुनिश्चित गर्नुपर्दछ’ भनेको छ ।

इस्लामाबादमा तीन दिनसम्म चलेको अशान्तिको क्रममा एक हजारभन्दा बढी पदयात्रा गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सुरक्षा बलले भिडमा ‘गैरकानुनी र अत्यधिक बल प्रयोग’ गरेको बताएको छ । तर, सूचनामन्त्री अत्ताउल्लाह तरारले बुधबार पत्रकारहरूलाई भन्नुभयो, “मानिसहरूको मृत्यु भएको भन्दै झूट बोलिरहेका छन् ।”

प्रदर्शनकारीहरूको मुख्य माग खानको रिहाइ थियो । उहाँ सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ र फेब्रुअरीको चुनावमा उहाँको पुनरागमन रोक्नको लागि लगातार कानुनी मुद्दाहरूमा फस्नुभएको छ । पीटीआईले चुनावमा अन्य कुनै पार्टीभन्दा बढी सीट जितेको थियो तर सैन्य प्रतिष्ठानसँग नजिक मानिने पार्टीहरूको गठबन्धनद्वारा सत्ताबाट बाहिर गरिएको थियो ।

पार्टीले मतदानमा धाँधली भएको आरोप लगाउँदै नियमित विरोध प्रदर्शन गरेको छ तर यो हप्ता मतदानपछि राजधानीमा सबैभन्दा ठुलो प्रदर्शन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *