न्वूज अपडेत संवाददाता
भक्तपुर, २४ असार
कानुन अध्ययन समाज नेपालको प्राविधिक सहयोगमा लेखापढी व्यवसायी समाजको आयोजनामा भएको १० दिने लेखापढी व्यवसायी परीक्षा तयारी कक्षाको सोमबार एक समारोहवीच समापन भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कानुन अध्ययन समाज नेपालका संस्थापक अध्यक्ष सुनिल प्रजापतिले देशमा कानुनी ज्ञान नभएकै कारण सरकारले देश चलाउन असमर्थ रहेको स्पष्ट पारे । उनले कानुनी क्षेत्रमा पाइला टेकेपछि हरेक कुरालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए । साथै नैतिकता, इमानदारिता र अनुशासनलाई अनिवार्य रुपमा अँगाल्नुपर्नेमा उनले जोड दिए । उनले देशको सचेत नागरिक भएर काम गर्न जोड दिँदै उनले कानुनका विद्यार्थी ठीक ठाउँमा रहे देश सही दिशामा जाने औंल्याए । उनले कानुनी क्षेत्रमा काम गर्दा हरेक प्रतिकूल अवस्थालाई अनुकूलतामा ल्याउन निरन्तर अध्ययन गर्न जोड दिए । उनले देशका मेडिकल माफिया, तस्कर, ठेकेदार र कमिशनखोरहरु सत्तामा रहेकै कारण ख्वप विश्वविद्यालय दिन आनाकानी गरेको बताउँदै कानुनी ज्ञाताहरुले राजनीतिक क्षेत्रमा राम्रोसँग काम नगरेकाले देश झन संकटतिर गएको बताए ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद प्रजापतिले कानुनी गल्ती अक्षम्य हुने बताउँदै कानुनी क्षेत्रमा काम गर्दा निकै सतर्क हुनुपर्नेमा जोड दिए । दैनिक रुपमा आइपर्ने समस्याको उचित समाधानका लागि यो तालिमको औचित्यता रहेको पुष्टि गर्दै आधारभूत ज्ञान प्राप्त गरेपछि कार्यक्षेत्रमा लाग्दा गल्ती नहुने बताए । साथै कानुन अध्ययन समाज नेपालले विगतदेखि नै जनताको जनपक्षीय कामका लागि कानुनी संघर्ष गरिरहेको उनको भनाइ छ ।
कानुन अध्ययन समाज नेपाल, जिल्ला समिति भक्तपुरका अध्यक्ष राज कैतीले लेखापढी व्यवसायीहरुले कानुनी ज्ञानका साथै प्रविधिमा समेत दखल हुनुपर्ने बताए । उनले द्विविधायुक्त कुनै पनि कुरालाई जानकार व्यक्तिसँग सल्लाह लिई काम गर्नुपर्नेमा जोड दिँदै कानुनी कागजहरु बनाउँदै सानाभन्दा साना कुरालाई समेत ध्यान दिनुपर्ने बताए ।
प्रशिक्षार्थी श्याम ख्याजुले १० दिने कक्षाको अनुभव बताएको उक्त कार्यक्रममा अधिवक्ता विकल प्रजापतिले प्रशिक्षार्थीले कमीकमजोरीबारे टिप्पणी गरे ।
लेखापढी व्यवसायी समाजका अध्यक्ष राजाराम बासीको सभापतित्वमा भएको उक्त कार्यक्रममा अधिवक्ता शिवराम बोहजुले पनि बोलेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेको थियो ।