कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १६ फागुन

कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.(नेफ्स्कुन) को प्राविधिक सहयोगमा एक्सेस वाग्मती प्रथम समूहको ३१ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सिपाडोलमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले राम्रा सहकारीहरूको असल अभ्यासहरू अरु सबै सहकारीहरूसँग आदानप्रदान गर्नुपर्ने बताउँदै सहकारी संस्थाहरूले कृषि, घरेलु तथा साना उद्योगतिर बढी जोड दिई राष्ट्रको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याउनुपर्ने बताए।

उनले सहकारी संस्था किसानहरूको समस्या समाधान गर्ने उद्देश्यका साथ सुरू भएको हुनाले सहकारी संस्था समुदायमा आधारित हुनुपर्ने कुरामा जोड दिए। उनले हाल केही सहकारी संस्थामा समस्या आउनुको मुख्य कारण सहकारी संस्था समुदायमा आधारित नहुनु र सञ्चालकहरूले स्रोतको अपचलन गर्नु हो भने ।

संविधानमा समाजवादउन्मुख उल्लेख भए तापनि सीमित धनी व्यक्तिले सरकारी जग्गा निजीकरण गरिरहेको तर सामान्य व्यक्तिले गाँस बास नपाइरहेको अवस्था भएकोले सहकारीले बचत तथा ऋण कारोबार मात्र नभई देश विदेशका राम्रा अभ्यासलाई अनुशरण गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले देशमा आर्थिक मन्दीका कारण सहकारीबाट प्रदान गरिएको ऋण उठाउन कठिन भएको जानकारी गराउँदै सहकारी संस्थाहरूले सदस्यहरूलाई उत्पादनमूलक तथा आयमूलक क्षेत्रमा कसरी लगानी गर्ने भन्नेबारे सिकाउनुपर्ने बताए।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले कार्यक्रम हरेक तीन महिनामा एक्सेस वाग्मती प्रथम समूहका संस्थाहरूले पालैपालो आयोजना गर्दै आएको जानकारी गराउँदै एक्सेसमा सहभागी संस्थाका राम्रा अभ्यासहरू आदानप्रदान गरी समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए।

विन्धवासिनी साकोस, चण्डेश्वरी साकोस, एकीकृत फ्रेन्डसिप साकोस, जनसचेतन साकोस, मन्थली साकोस, सामुदायिक साकोस, शिक्षक कल्याण साकोस, श्री बाराही साकोस र बिकु साकोसको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले पनि बोलेको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.(नेफ्स्कुन)का वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले कार्यशालाको सहजीकरण गरेको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *