शुभदीप बचतको १६औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० माघ


शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारणसभा शनिवार स्थानीय ब्रह्मायणी पीठमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका ९ वडाध्यक्ष रविन्द्र ज्याख्वले साधारणसभाको औचित्य प्रष्ट्याउँदै साधारणसभाकै दिन संस्थाको वार्षिक क्रियाकलाप तथा आर्थिक जानकारी प्राप्त हुने बताए । उनले सदस्यको हितमा संस्थाले गरिने हरेक गतिविधिको यथार्थ विवरण त्यस्तो सभाबाट दिने प्रष्ट्याए । साथै उनले सहकारी संस्था र सदस्यवीचको जति घनिष्ठ सम्बन्ध हुन्छ, त्यति बैंक र फाइनान्ससँग नहुने स्पष्ट पारे । विभिन्न लोभ प्रलोभनमा परी जनताको बचत उठाएर नराम्रो सोचका मान्छेले सहकारी संस्थाको रकम हिनामिना गरिरहेको बताउँदै उनले अब कुनै खालको दुःख नपाउन संस्थाको बारेमा गहन अध्ययन गर्नुपर्ने बताए ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले संस्थाका नीति नियम र सञ्चालन पद्दतीबारे जानकारी लिनुपर्ने बताए । उनले नियमित साधारणसभा नगरेका, सामाजिक आर्थिक गतिविधि नगरेका सहकारीमा समस्या आइरहेको औल्याए । सम्बन्धित क्षेत्रका निकायबाट स–साना घरेलु तथा औद्योगिक कार्यमा लगानी गर्न उत्प्ररित गर्नुपर्नेमा उनले जोड दिए ।


त्यस्तै भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैयाँ सुजखुले सहकारी सदस्यलाई आर्थिकसँगै सामाजिक, राजनीतिक अवस्थाबारे पनि जानकारी गराइराख्नुपर्ने बताए । राजनीतिक र सामाजिक रुपमा सुसूचित एवं अनुशासित नभएका व्यक्तिले संस्थालाई राम्रो र दिगो रुपमा चलाउन नसक्ने औल्याए ।


संस्थाका कानुनी सल्लाहकार प्रेम प्रजापतिले संस्थाको व्यवस्थापनमा आन्तरिक स्वनियमन तथा नियन्त्रण महत्वपूर्ण हुने बताए । उनले सहकारीभित्रको आन्तरिक व्यवस्थापनको कमजोरीकै कारण सहकारीहरु समस्याग्रस्ट बनेको बताउँदै विभिन्न सहकारीमा आएको समस्याबाट सतर्क हुनुपर्नेमा जोड दिए ।


संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव ज्ञानेन्द्र प्रसाद मगजुको आ.व. २०७९/८० को प्रगति प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७९/८० को आर्थिक प्रतिवेदन, लेखा संयोजक राजकुमार प्रजापतिद्वारा प्रस्तुत आ.व. २०७९/८० को प्रतिवेदन, वाह्य लेखा परीक्षकको प्रतिवेदन, आ.व. २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगायतका विभिन्न प्रस्तावहरु पारित गरेको थियो । कार्यक्रममा कमल खयरगोली, विजय प्रसाद प्रजापति लगायतले बोल्नुभएको उक्त कार्यक्रममा ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाले आ.व. २०७९/८० मा १ करोड ९२ लाख ८ हजार २५७ रुपैयाँको वासलात देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *