भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा रुपेश जैसवालको अग्रता

अर्थ/वाणिज्य खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, १७ कात्तिक

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपको शुक्रबारदेखि शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले चेसको गोटी चाली उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

पहिलो दिन सम्पन्न चार चरणको खेलबाट वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल, पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, ललितपुरका सरोज महर्जन र भक्तपुरका विक्रम चोकामी ४ अंकसहित अग्रता कायम गरेका छन् । त्यस्तै दोलखाका आशिष फुँयाल, भक्तपुरका राजेश कक्षपति, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, युवा खेलाडीहरू सुदिप तामाङ, धिरेन राई, सुरज सिंह ३.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

पाँचौ चरणदेखि नवौँ चरणसम्मका खेलहरू शनिबार बिहान १० बजेदेखि शुरू हुने आयोजक संस्थाले जानकारी दिएको छ । अपरान्ह ३ बजे भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम हुनेछ । साथै कात्तिक १९ गते बिहान ८ बजे भक्तपुर साकोसको २७ औँ स्थापना दिवसको अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरूलाई पोषण वितरण कार्यक्रम संस्थाको प्राङ्गणमा हुने जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि एवं नेपाल बुद्धिचाल महासंघका केन्द्रीय कोषाध्यक्ष ताराबहादुर रानाभाटले खेललाई संयमित रुपमा खेलिदिनुपर्नेमा जोड दिए । त्यस्तै भक्तपुर बुद्धिचाल संघका अध्यक्ष बद्री केदार दुवालले अनुशासन नै खेलको गहना भएकाले खेलाडीहरु अनुशासित भएर खेल्नुपर्ने बताए । अन्तर्राष्ट्रिय आर्विटर एवं प्रतियोगिताका निर्णायक निराजन प्रजापतिले खेलका नियमबारे जानकारी दिँदै खेलाडीहरुले खेल खेल्दा कुनै पनि इलेक्ट्रोनिक सामग्री ल्याउन चलाउन प्रतिबन्ध गरेको बताउनुभयो ।
सभापतिको आसनबाट संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले गरेको यस बुद्धिचाल प्रतियोगिता संस्थाबाट वार्षिक रुपमा तय गरिएका कार्यक्रमभित्रकै अंश भएको बताए । उनले संस्थाको बारेमा जानकारी दिँदै संस्थाले आर्थिक गतिविधिसँगै विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै गरेको स्पष्ट पारे । संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले सञ्चालन गरेको उक्त कार्यक्रममा शुक्रवार ४ राउण्ड र शनिवार ५ राउण्डको खेल हुने बताएको छ । देशका विभिन्न जिल्लाबाट १२८ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा उत्साहवद्र्धक सहभागिता रहेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *