न्यूज अपडेट संवाददाता
भक्तपुर, १४ बैशाख

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरूलाई मार्गनिर्देश गर्दै अध्यक्ष बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना भएको बताउँदै निजी अस्पतालहरूले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्ने बताए।
अध्यक्ष बिजुक्छेँले चिकित्सक तथा नर्सहरूले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्न सके बिरामीको मन जित्न सकिने बताउँदै अस्पतालको विरुद्ध हुने गतिविधिप्रति सजग भएर बस्नुपर्ने बताए।
उनले चिकित्सक र कर्मचारीहरूले आफ्नो पदीय दायित्व मात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको सेवा भावनाले काम गर्न प्रेरित गरे। पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने उल्लेख गर्दै उहाँले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामहरूको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढङ्गले चिकित्सक र कर्मचारीहरूले काम गर्नुपर्ने बताए।
ख्वप अस्पतालले गुणस्तरीय स्वास्थ्य उपचारको लागि थप स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति जुटाउन अस्पताल व्यवस्थापन समिति प्रयासरत रहेको बताउँदै उनले बिरामीहरूलाई आफ्नै अभिभावकसरह सेवा प्रदान गर्न मार्गनिर्देश गरे।
अस्पतालमा कार्यरत स्टाफ नर्सहरूले ख्वप अस्पतालबाट प्रवाहित सेवा सुविधा र स्वास्थ्य बीमा कार्यक्रमबाट धेरै बिरामीहरू लाभान्वित भएको बताउँदै आगामी दिनहरूमा अस्पतालले थप सुविधाहरू प्रदान गर्दै जानुपर्ने सुझावहरू दिएका थिए ।