मौलाकाली केबलकार प्रधानमन्त्रीले उद्घाटन गर्दै, वैशाखभित्रै बुटवलमा पनि केबलकार चल्ने

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ११ बैशाख

मौलाकाली केवलकार प्रालिले बनाएको मौलाकाली केबलकार आउँदो १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सकेर केबलकार १ वैशाखदेखि परीक्षण सञ्चालन भएको थियो ।

केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला छन् ।

केवलकारमार्फत बटम स्टेसनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ ।

केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।

केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् ।

केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रालिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *