वर्षौसम्म कर नतिर्ने औद्योगिक क्षेत्रका उद्योगहरु उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने

Featured पर्यटन फाेटाे ग्यालरी विशेष समाचार शिक्षा समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ फागुन

सन्दर्भः समाज सुधार माविको ५४ औं वार्षिकोत्सव

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा समाज सुधार माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा प्रमुख प्रजापतिले विद्यालयले प्रकाशन गरेको स्मारिक विमोचन गरेका हुन् ।


कार्यक्रममा बोल्दै उनले भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरुले वर्षौंदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरुमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको बताए ।
उनले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरु सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरु अब उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताए ।
सोही अवसरमा उनले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरु स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिए ।


भक्तपुर नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि केही उद्योगहरुले कर नतिरेपछि ती उद्योगहरुमा तालाबन्दी गरेको बताउँदै उनले जनताले ती उद्योगहरु हटाउन पटक पटक माग गरेको सन्दर्भमा भक्तपुर नपाले उक्त कदम चाल्नुपरेको बताए ।
नेपालमा दुईथरिको शिक्षा नीतिको कारण सरकारी र निजी क्षेत्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा थप वृद्धिका लागि प्रतिस्पर्धाको नीति नगरपालिकाले लिएको बताए ।
सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा उत्कृष्टता प्रदान गर्न नसकेसम्म निजी विद्यालयहरूको औचित्य कायम रहीरहने बताउँदै उनले प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यार्थीहरुको अस्तित्व क्रमशः लोप भएर जानेबारे विद्यार्थीहरु सचेत पार्नुपर्ने बताए ।
उनले विद्यार्थीहरुलाई पढाईसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरुले दिनुपर्ने बताए ।
शिक्षकहरुले विद्यार्थीहरलाई पढाउने मात्रै नभई भविष्यको समाज निर्माण गरिरहेको भन्ने सोचले काम गर्नुपर्ने विचार व्यक्त गरे ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले आजभन्दा चार दशक अगाडिसम्म भक्तपुर शैक्षिक क्षेत्रमा निकै पछाडि रहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रहरुमा भक्तपुरले आमूल परिवर्तन गरेको बताए । जनताको साथ र सहयोगमा यहाँको विकास निर्माण कार्य अगाडि बढेको बताउँदै उनले विद्यार्थीहरुलाई नैतिकवान र देशभक्त नागरिक बन्न प्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्युन आय भएका अभिभावकहरुका छोराछोरी अध्ययन गरिरहेको बताउँदै विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताए ।
समाज सुधार मावि व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रअ लक्ष्मीनारायण दुवाल र संयुक्त परीक्षा समितिका गणेशराम थुसाले पनि बोलेको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापति र अन्य अतिथिहरुले शिक्षक सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *