भक्तपुरकाे भैल प्याखं (भैरव नाच) हेर्न भरतपुरमा भीड

Featured कला/साहित्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता

चितवन, २३ फागुन

भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) शुक्रबार भरतपुरमा प्रदर्शन गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर देखाइएको थियो ।
विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँच वटा नाचहरू देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं (यी सबै नाचहरूको नामहरू हुन्।) देखाइएका हुन् । यी सबैलाई सामूहिक रुपमा भैल प्याखं भनिन्छ ।यी सबै नाचहरूमा घटीमा दुई जनादेखि बढीमा १० जनासम्मको समूह रहेको छ । प्रत्येक कलाकारहरुले छुटाछुटै मुकुन्डो लगाई सामूहिक नाच प्रदर्शन गरेका हुन् । साथै आआफ्नो पहिरन लगाई उनीहरु नाचमा सहभागी भएका थिए । नाचमा बाजागाजा बजाउने पनि छुटै टोली रहेको थियो ।

प्रदर्शनका लागि भक्तपुरबाट ४९ जना कलाकार तथा बाजागाजाकर्मीहरु मुकुन्डो तथा बाजागाजासहित आवश्यक सामानहरू लिएर बिहीबार नै भक्तपुरबाट चितवन पुगेका थिए ।

नाच हेर्नका लागि दिनभर चितवन बासीको भीड लागेको थियो । विशेष गरेर स्कुलका विद्यार्थीहरू नाच हेर्नका लागि पुगेका थिए । आयोजक एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी (लासा) नेपालले जनाए अनुसार चितवनका झण्डै एक दर्जन स्कुलहरूका एक हजार विद्यार्थीलाई आमन्त्रण गरिएको थियो । उनीहरु सबैलाई प्रवेश निःशुल्क गरिएको थियो । नाच भरतपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरबार चम्पानगरमा प्रदर्शन गरिएको थियो ।

महाआनन्द महोत्सव २०८१ नामकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ नाम दिइएको थियो । यस्तो खाले कार्यक्रम चितवनमा पहिलो पटक भएको आयोजकको भनाई छ ।

कार्यक्रमको उद्घाटन नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले गरेकी थिइन् । आयोजक लासा नेपालकी अध्यक्ष सीता तामांग लोहनीका अनुसार यसअघि पनि रिसोर्टमा यस्तै यस्तै कार्यक्रम गरिएको भए पनि पूर्ण रुपमा नेवारी संस्कृतिबारेमा भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमपछि सहभागी विद्यार्थीलाई गाईजात्राको अवसरमा नाचिने घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) सिकाउनुका साथै सामूहिक नाच पनि नाचिएको थियो । भक्तपुरको कला संस्कृतिलाई जर्गेना गर्दै भक्तपुरको नाचलाई देशभरि चिनाउने उद्देश्यले देश विदेशमा यो नाच देखाउँदै आएको विश्वकर्मा भैल प्याखंका संयोजक विष्णुप्रसाद प्रजापतिले बताए ।

के हो भैल प्याखं ?

भैल प्याखं (भैरव नाच) पौराणिक सांस्कृतिक नाच हो । परापूर्व कालमा भादगाउँ (हालको भक्तपुर) मा भूतप्रेत, दैत्य, दानवहरूले अति नै जनताहरूलाई दुख दिने गर्दथ्यो । त्यसपछि जनताहरू राजाकहाँ बिन्ती बिसाउन पुगेछन् । त्यसपछि राजाले नामुद तान्त्रिकलाई बोलाई क्रोेधरुपी भैरव गण तयार गरी खड्ग समाउन लगाई विभिन्न ताल तथा मुद्रामा नाच सिकाई ती भूतप्रेत दैत्यलाई लखेटेर नास गरी त्यसको खुसीयालीमा यो नाचको उत्पत्ति भएको भन्ने जनश्रुति रहेको छ ।

यस भैल प्याखंमा मूल पात्र भैल हुने गर्दछ । यसमा भैल, महाकाली, बाराही, देवी, महालक्ष्मी एकएकजना गरी पाँच जना, बेताल तीन जना, भुचा दुई जना गरी कुल १० जना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *