भक्तपुर बचतमा एक महिने नाटक लेखन तथा अभिनयकलाको समापन

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ५ असोज


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा भएको एक महिने नाटक लेखन तथा अभिनयकलाको शनिबार समापन भएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र समाजको क्षेत्रमा यस तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले अभिनयसँगै जीवन सार्थक बनाउन निरन्तर अध्ययन गर्नुपर्नेमा जोड दिँदै कलापक्ष र नियमित अन्तरक्रिया र गोष्ठी भएमा त्यसले जीवन्तता प्रदान गर्ने बताए । विषय छनोटमा बुद्धि र विवेक पुर्‍याउनुपर्ने बताउँदै उनले पूँजीवादको जग भ्रष्टाचार भएकाले त्यस व्यवस्था विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका अन्याय अत्याचार, दमन र उत्पीदनलाई कथाको विषयवस्तु बनाएमा नाटकले देश र समाजको सेवा गर्ने बताए । साहित्य र विचार पक्षमा जोड दिँदै उनले सुन्दर समाज निर्माणका लागि नाटक क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

संस्थाका अध्यक्ष निर्मल प्रजापतिले यस तालिम सामाजिक उत्तरदायित्वकै सिलसिला भएको चर्चा गर्दै संस्थाले समाज र सदस्यका लागि सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र अन्य सामाजिक महत्वका विविध क्षेत्रमा लगानी गरिरहेको बताए । उनले संस्थामा वित्तीय अनुशासनलाई कडाइ गरिरहेको बताउँदै संस्थाका पदाधिकारीहरु व्यक्तिगत आर्थिक प्रलोभनमा परी काम नगरेको स्पष्ट पारे । संस्थाले दिएका तालिमहरुलाई लिपिबद्ध गरी संग्रहित पुस्तक र कृति प्रकाशनमा जोड दिइरहेको चर्चा गर्दै संस्थाले दिएको यो तालिम नितान्त नौलो भएको बताए । उनले प्राप्त सीप र ज्ञान समाज र सदस्यको लागि उपयोग गर्न जोड दिए ।

प्रशिक्षक लक्ष्मी प्रसाद चवालले हरेक कलाकारले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । उनले पर्दा भित्र र बाहिरको भूमिकाबारे स्पष्ट पार्दै तालिममा एउटै विषयमा ३२ वटा कथा तयारी भएको बताए । साथै नेपाल भाषा साहित्य तःमुंज्या(सम्मेलन) नाटकीय क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्न यस तालिमको विशेष भूमिका हुने बताए ।

आयोजक समितिका संयोजक नारायणी खोंजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट ‘से नो टु ड्रग्स’, ‘नाताबाद स्वाहा’ र ‘ड्रग्स एडिग्सन’ नाटक मञ्चन भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्य प्रज्वल प्रजापति, उज्वल ह्योंगजुले पनि बोलेको थियो । लक्ष्मी प्रसाद चवाल र जय प्रजापतिले दिएको उक्त तालिममा ३१ जना सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *