न्यूज अपडेट संवाददाता
भक्तपुर, ६ असाेज
“जनता बाँचे भाषा बाँच्छ” भन्ने मूल मन्त्र राखी यही आउँदो असोज २८ र २९ गते हुने दुईदिने चवालीसाैं नेपालभाषा साहित्य सम्मेलनको तयारी स्वरुप शनिबार च्व: साफु ब्वनेज्या कार्यक्रम सम्पन्न भएकाे छ ।
संघीय सांसद तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले शारीरिक तथा बाैद्धिक मजदुरको हितमा काम गर्ने साझा मञ्चको रूपमा साहित्य सिर्जना गर्दा माैलिक भाषासँगै आदररार्थी र शब्द चयनमा ध्यान दिनुपर्ने सल्लाह दिँदै साम्राज्यवादले देशको बजार र खनिज कब्जा गरी देशलाई कठपुतली बनाउने नीतितर्फ सजग हुनुपर्ने बताए । उनले पुँजीवाद व्यवस्थामा जनताको स्वास्थ्यप्रति खेलबाड गर्न विषादी र रसायनयुक्त खाद्यान्नको प्रयोगमा चनाखो हुनुपर्ने बताउँदै काठमाडौंको कमजोर भूसतह भएकोले देशको समानुपातिक विकासमा जोड दिए। लेखक तथा निर्णायक आशराम वैद्यले नाटक तथा ख्यालमा विचारपक्षलाई समयसापेक्ष रूपमा जनतासमक्ष सकारात्मक सन्देशसहित सरल रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै समीक्षा गरे। लेखक तथा निर्णायक राजेन्द्र श्रेष्ठले तःमुंज्यामा प्रस्तुत हुने नाटक तथा ख्यालमा उद्देश्यअनुरुप विषयवस्तु र समय सान्दर्भिक हुनुपर्ने समीक्षा गरे। सल्लाहकार ज्ञानसागर प्रजापतिले नाटक ख्यालको संवादको बीच कलाको प्रस्तुतिसँगै माैलिक उखान टुक्कको प्रयोग गर्न जोड दिए ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले मञ्चनयोग्य विषयवस्तु समेट्दा काैतुहलता र श्रृङ्गारितामा ख्याल गर्न सुझाव गरे । चवालीसाैं नेपालभाषा तःमुंज्याका अध्यक्ष तथा च्व: साफु ब्वनेज्या कार्यक्रमका सभापति कृष्णभक्त लवजूले नाटक, ख्याल, गीत तथा संगीत देश र जनताको समस्यालाई देश र जनता समक्ष प्रस्तुत गर्दा दीर्घकालीन रूपमा नेपालभाषाको कार्यक्रम निरन्तरता हुने बताउँदै दुई दिने तःमुंज्यालाई सफल बनाउन विभिन्न समिति तथा उपसमितिबाट भएको गतिविधिको बारेमा जानकारी दिए । उक्त कार्यक्रममा दर्ता भएका २३ वटा नाटक, गीतिनाटक, ख्याल, गीत तथा भजन मध्ये १७ वटा सांस्कृतिक प्रस्तुतिको स्क्रिप्ट वाचन भएको थियो ।
उक्त कार्यक्रममा सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्दै सेन्सरमा मात्र स्क्रिप्ट करेक्सन गर्दा कण्ठ भएको बार्तालापहरु सच्याएर प्रस्तुति गर्न गाह्राे हुने र तःमुज्यासंगको मेल नखाने, विचार नमिल्ने, जनता भड्काउने, व्दन्द सृजना हुने भएभने त्यसलाई प्रस्तुति नगराउँदा महिनौं मिहिनेत गरेको समय खेर जाने र खर्च सबै खेर जाने भएको समय मै स्क्रिप्ट सच्याउन पाए त्यस्ता समस्या नआउने बताए । उनले तःमुज्यामा प्रस्तुत हुने सांस्कृतिक विधाहरु स्तरिय बनाउन पनि यो स्क्रिप्ट वाचन कार्यक्रम गरेको बताए ।