न्यूज अपडेट संवाददाता
भक्तपुर, २ असोज
वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ का सामान्या कानून विषयका विद्यार्थीहरुको आयोजनामा बुधबार एक समारोहबीच संविधान दिवस मनाएको छ ।
कार्यक्रममा कानुन अध्ययन समाजका प्रतिनिधि अधिवक्ता विकल प्रजापतिले संविधानका हरेक पक्षमा हेर्नुपर्नेमा संवैधानिक अंगका मुख्य पदाधिकारीहरुले नै नहेर्दा देश दुर्घटनामा परेको बताए । उनले विद्यार्थीहरु नै देशका मुख्य अंगमा पुग्नुको विकल्प नभएको बताउँदै अहिलेबाटै संविधानका हरेक पक्षमा अध्ययन गर्नुपर्ने औंल्याए । संविधान पालना गर्नु सबैको कर्तब्य भएको बताउँदै उनले संविधानप्रदत्त मौलिक हक अधिकारको कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए ।
अधिवक्ता एवं शिक्षक पुरुषोत्तम ग्वाछाले संविधानका विविध पक्षमा विद्यार्थीहरुले ज्ञान हासिल गर्नुपर्ने बताउँदै सही ठाउँमा पुगी काम गर्नुपर्नेमा जोड दिए ।
अधिवक्ता एवं शिक्षक प्रेम प्रजापतिले संविधानका मौलिक हक अन्तर्गत सूचनाको हक कार्यान्वयनमा ल्याउन राज्य आफै बाधक भइरहेको बताए । उनले संविधानमा रहेका हक अधिकारको सही रुपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै देशको मूलकानुन संविधानको कार्यान्वयन गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताए ।
अधिवक्ता एवं शिक्षक राजन लाखाले कानुनका विद्यार्थी स्वनियममा बस्नुपर्ने बताउँदै यो कार्यक्रमले विद्यार्थीहरुका लागि नयाँ ज्ञान दिन सार्थक भएको बताए ।
अधिबक्ता एवं शिक्षक प्रजापति खनालले देशभक्ति गीत गाउँदै संविधान दिवसको शुभकामना दिए । कक्षा १२ का विद्यार्थी रघुनन्दर महत्तोको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले संविधानका विभिन्न पक्षका बारेमा बताएका थिए ।