न्यूज अपडेट संवाददाता
भक्तपुर, १ साउन
भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले मंगलबार अवकाश प्राप्त कर्मचारीलाई विदाई तथा नवनियुक्त कर्मचारीलाई सपथ ग्रहण कार्यक्रम गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालले अवकाश प्राप्त सुरक्षागार्ड गंगाराम गिरीलाई दोसल्ला ओढाई दीर्घसेवा कदर पत्रका साथ सम्मान गर्दै १० वर्षसम्म निरन्तर निःस्वार्थ र इमानदारीपूर्वक संस्थामा सेवा गरेको बताए । उनले कर्मचारीकै कारण संस्था राम्रो वा नराम्रो हुने बताउँदै कर्मचारीहरुले संस्थाको नीति नियम राम्रोसँग पालना गर्नुपर्नेमा जोड दिए ।
संस्थाका सल्लाहकार कृष्णप्रसाद धन्छाले नमूना सामाजिक संस्थालाई अझ अगाडि बढाउन कर्मचारीहरुले इमानदार र कर्तव्यपरायण भई काम गर्नुपर्ने बताए । उनले संस्थाका पदाधिकारी, कर्मचारी र सदस्यहरुबीच सधै राम्रो सम्बन्ध बनाउन सहनशिलता, विनम्रता र लगनशिलता आवश्यक रहेको औल्याए ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले अवकाश प्राप्त गिरीलाई मायाको चिनो प्रदान गर्दै मान्छेलाई चिन्न एकपटक जोखे पुग्ने बताए । उनले संस्थामा नवनियुक्त दुई जना सुरक्षाकर्मी राजेन्द्र लागेजु र निकेश कोजु र आन्तरिक बढुवाबाट अधिकृतस्तरमा नियुक्त निभा कोजु, वरिष्ठ सहायकपदमा नियुक्त उर्मिला कोजु, रिता दुवाल र गोपालराम चवाललाई सपथ ग्रहण गराएको थियो ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मीप्रसाद कुसी, सचिव जगनाथ प्रजापति, कर्मचारी गंगाराम गिरीलगायतले बोलेको उक्त कार्यक्रममा बढुवा भएका कर्मचारीबाट प्रतिवद्धता व्यक्त गरेको थियो ।