चण्डेश्वरी बचतमा चारदिने समाचार लेखन तालिम

Featured अर्थ/वाणिज्य पर्यटन फाेटाे ग्यालरी विशेष समाचार समाचार सम्पादकीय

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३१ असार

 
चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सदस्यहरुको क्षमता अभिवृद्धि गर्न भएको चारदिने समाचार लेखन तालिम सोमबार सम्पन्न भएको छ ।

असार २६ गते संस्थाका अध्यक्ष पूर्ण गोपाल राजचलबाट तालिमका प्रशिक्षक एवम् पत्रकार प्रेम प्रजापतिलाई तालिम सामग्री हस्तान्तरण गरी सुरु भएको उक्त तालिमको सोमबार एक समारोहबीच समापन भएको हो ।

समापन कार्यक्रममा भक्तपुर न.पा. वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेँले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै समाचारले समाजलाई सकारात्मक दिशातर्फ मोड्न लेख्नुपर्ने बताए । उनले समाज बैचारिक रुपमा दुई वर्गमा विभाजन हुने भएकाले वहुसंख्यक जनताको हितमा यथार्थपरक समाचार लेख्न जोड दिए । साथै सहकारी संस्थाले यससँगै समाजमा सकारात्मक परिवर्तनका लागि अनुसन्धानात्मक र आलोचनात्मक रुपमा लेख्न सक्ने लेखक तयार गर्नुपर्ने बताए । समाचारले सरकारको गलत कार्यको भण्डाफोर गर्ने भएकाले यसलाई ‘वाचडग’का रुपमा लिएको उनको तर्क छ ।

संस्थाका सञ्चालक अध्यक्ष पूर्णगोपाल राजचलले समाचार लेख्दा सत्यतथ्यलाई ध्यान दिई समाज परिवर्तनका निम्ति लेख्नुपर्ने बताए । साथै उनले संस्थाका ऋणी सदस्यहरुले साँवा ब्याज समयमै तिरी सहयोग गर्नुपर्नेमा जोड दिए ।


संस्थाका संस्थापक अध्यक्ष एवम् व्यवस्थापक नारायण प्रसाद त्वानाबासुले तालिमको समापनसँगै समाचार लेखनको सुरुवात भएको बताए । उनले समाजको उन्नति र प्रगतिका लागि समाचार लेखी ज्ञान दिनुपर्नेमा जोड दिए । घटेका घटनाको पूर्ण निगरानीका साथ सकारात्मक प्रभावका लागि लेख्नुपर्ने बताउँदै उनले संस्थाले आर्थिकसँगै सामाजिक क्षेत्रमा लाग्न प्रेरित गरिरहेको बताए ।
तालिमका प्रशिक्षक प्रेम प्रजापतिले छोटो समयमा लिएको तालिमबाट प्राप्त ज्ञान सिपलाई प्रयोगमा ल्याउनुपर्ने बताए । उनले तालिमको महत्व र यसबाट पर्ने प्रभावबारे बताउँदै प्रयोगात्मक कार्यले मात्रै निखार्ने बताए ।

आयोजक समितिका संयोजक विष्णुप्रसाद कर्माचार्यले संस्थाबाट प्रदान गरेका विभिन्न तालिमले संस्थाको दिगो विकासमा टेवा पुर्‍याउने बताए ।


कार्यक्रममा प्रशिक्षार्थीद्वय विकेश मचामसी, सुनिता गःपीले चारदिने समाचार लेखनको अनुभव व्यक्त गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्षबाट प्रशिक्षकलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा उर्मिला प्याथले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *