न्यूज अपडेट संवाददाता
भक्तपुर, २९ भदौ
चवालिसौं नेपाल भाषा साहित्य तःमुंज्याको साहित्यिक समितिको आयोजनामा साहित्यमा गुणस्तरीयता कायम गर्न तयारी स्वरुप शनिवार सरस्वती विद्यागृहको प्राङ्गणमा साहित्य गोष्ठी भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले विश्वका समाजवादी देशहरुमा भएको अमेरिकी ज्यादती विरुद्ध साहित्यमार्फत आवाज उठाउन सके मात्र अन्तरराष्ट्रवादी ऐकेबद्धता जाहेर गरेको ठहर हुने बताए । उनले ६० वर्ष पहिलेदेखि नै क्युवामा गरेको नाकाबन्दी र हिंसा अमेरिकाले अहिलेसम्म पनि नछोडेको बताए । साहित्य मात्र मनोरञ्जन र शोखको विषय नभई देश र जनताको पक्षमा, समाजवादी देशको पक्षमा र कामदार गरिव जनताको पक्षमा हुनुपर्नेमा जोड दिए । कम्युनिष्टको नाममा कलंकसावित भएका एमाले र माओवादीका विषयमा साहित्यमार्फत प्रहार गर्नुपर्ने उनको भनाइ छ । उनले अहिलेको द्वन्द साम्राज्यवाद र समाजबाद बीचको द्वन्द भएकाले साम्राज्यवाद र फाँसीवादी चरित्रको विरुद्ध साहित्यलाई प्रयोग गर्नुपर्ने बताए । पञ्चायतकालमा भन्दा अहिले चर्को दमन भएको बताउँदै उनले एकध्रुवीय विश्व कायम गर्न खोज्ने अमेरिका, भारतीय एकाधिकार पूजी र त्यसका दलालहरुविरुद्ध साहित्यमार्फत घोर विरोध गर्नुपर्ने उनको भनाइ छ ।
तःमुंज्याका सल्लाहकार एवम् जनकवी चन्द्रबहादुर उलकले तःमुंज्या आएपछि मात्र साहित्यको वासना आउने परम्परालाई तोड्दै नियमित रुपमा साहित्य गोष्ठीहरु गर्नुपर्ने बताए । उनले प्रस्तुत कविताहरुको समीक्षा गर्दै भाषा बचाउन, समाजवादी प्रचार अभियानलाई जारी राख्न, विभिन्न व्यक्तिहरुको विचार राख्ने मञ्च भएकोले तःमुंज्याको महत्व अझ बढेको बताए ।
तःमुंज्या मूल समितिका अध्यक्ष आशकुमार चिकंबन्जारले कथाहरुको समीक्षा गर्दै साहित्यलाई अझ परिष्कृत बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै तःमुंज्याका सल्लाहकार ज्ञानसागर प्रजापतिले नयाँ पुस्तालाई साहित्य लेखनमा विद्यालयतहदेखि नै प्रोत्साहन गर्नुपर्ने बताए ।
युवाकवी दामोदर सुवालले प्रस्तुत गरेका साहित्यको स्तर उकास्न आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले प्रस्तुत साहित्यले विकृति, विसंगतिविरुद्ध आवाज उठाई समाजको सकारात्मक परिवर्तन गर्न खोजेको औंल्याए । उनले साहित्य रचना गर्दा विभिन्न पक्ष र चरणहरुमा ध्यान दिनुपर्ने बताउँदै कलापक्ष र अलंकार, अनुप्रास, अन्त्यानुप्राससमेतका विविध कुराहरुमा ध्यान दिनु उपयुक्त हुने बताए ।
आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा २७ वटा कविता, ४ वटा कथा, एउटा गीति कथा र एउटा गजल प्रस्तुत भएको थियो ।